त्रिशूली थ्री बी सुरुङमा उद्धार प्रयास, नेपाली सेनाको टोली थपियो

हिमाल प्रेस १५ भदौ २०८३ १६:२८ | Monday, August 31, 2026
त्रिशूली थ्री बी सुरुङमा उद्धार प्रयास, नेपाली सेनाको टोली थपियो

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा नेपाली सेनाले सोमबार पनि उद्धार प्रयास तीव्र पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार सुरुङभित्र मानिस फसेको आशंकापछि नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सुरुङ खन्ने तथा खोजी कार्यलाई निरन्तरता दिएको हो।

नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो। टोलीले नेपाली सेनासँग समन्वय गरेर माथिल्लो त्रिशूली थ्री बीको सुरुङ क्षेत्रमा पुगेर प्रारम्भिक स्थलगत निरीक्षण (रेकी) गरेको थियो।

उक्त टोलीले सोही दिन रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको पनि रेकी गरेको थियो। दुवै आयोजनाको अवस्था अध्ययन गरेपछि चिनियाँ उद्धार टोलीले नेपाली सेनालाई स्थलगत अवस्थाबारे जानकारी गराएको सचिवालयले जनाएको छ।

भदौ १४ गते भने चिनियाँ टोलीले आफ्नो उद्धार प्रयास मुख्यतः माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना क्षेत्रमा केन्द्रित गरेको थियो।

त्यसै दिनदेखि माथिल्लो त्रिशूली थ्री बीमा नेपाली सेनाको भैरवनाथ गणका १५ सैनिक र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास सुरु गरेका थिए।

सोमबार बिहान ९ बजेदेखि भैरवनाथ गणका थप १६ सैनिक परिचालन गरिएपछि सुरुङ क्षेत्रमा खन्ने र खोजी कार्यलाई अझ तीव्र बनाइएको सचिवालयले जनाएको छ।

सुरुङभित्र मानिसहरू फसेको आशंका रहेकाले उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

प्रकाशित: १५ भदौ २०८३ १६:२८ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast