शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल।
फाइल तस्बिर।
काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संघीय अनुदानअन्तर्गत कार्यरत शिक्षकहरूको तलब अन्य शिक्षकसरह २१ प्रतिशतले वृद्धि गर्ने गरी प्रस्ताव तयार पारिएको बताएका छन्।
एक भेटघाटका क्रममा मन्त्री पोखरेलले संघीय अनुदानका शिक्षकको तलब वृद्धि गर्न अर्थ मन्त्रालयबाट समेत सहमति प्राप्त भइसकेको जानकारी दिएका हुन्।
उनका अनुसार तलब वृद्धि सम्बन्धी प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराउने तयारी गरिएको छ।
मन्त्री पोखरेलले प्रस्ताव मन्त्रिपरिषद्मा लैजान आवश्यक प्रशासनिक प्रक्रिया समेत अघि बढिसकेको बताएका छन्।
मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत भएपछि संघीय अनुदानका शिक्षकको तलबमा २१ प्रतिशत वृद्धि हुने उनले जानकारी दिए।
संघीय अनुदानअन्तर्गत कार्यरत शिक्षकले लामो समयदेखि अन्य शिक्षकसरह तलब सुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्।
सरकारले शिक्षकहरूको तलब तथा सेवा सुविधामा विभिन्न समयमा गरेको समायोजनमा संघीय अनुदानका शिक्षकहरू पनि समान रूपमा समेटिनुपर्ने माग उनीहरूको रहँदै आएको छ।
मन्त्री पोखरेलले तयार पारिएको प्रस्ताव कार्यान्वयनमा आए संघीय अनुदानका शिक्षकको तलबमा रहेको असमानता केही हदसम्म सम्बोधन हुने बताएका छन्।
प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि मात्रै यसको औपचारिक कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ।


