काठमाडौँ- जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार कैदीलाई प्रहरीले घरमै फेला परेको छ। झुम्का कारागारमा हत्या कसुरमा कैद सजाय भुक्तान गरिरहेका तेह्रथुमको लालिगुराँस नगरपालिका ८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई प्रहरीले आज बिहान उनकै घरबाट नियन्त्रणमा लिएको हो।
तेह्रथुम जिल्ला प्रहरी कार्यालयका अनुसार २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका उनी आफ्नै घरमा लुकीछिपी बसेको भन्ने गोप्य सूचना पाएको थियो।
त्यसपछि इलाका प्रहरी कार्यालय वसन्तपुरबाट प्रहरी निरीक्षक रुपेश तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले कैदी नेपालीलाई आज साउन २१ गते राति २ बजे घरमै पक्राउ गरेको हो।
जिल्ला अदालत तेह्रथुमले २० वर्ष कैद तोकेका उनले अब ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।


