उद्योगमन्त्री यादवको निर्देशनपछि आयल निगम सक्रिय, उपभोक्तालाई राहत: टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

हिमाल प्रेस १६ साउन २०८३ ११:३३ | Saturday, August 1, 2026
उद्योगमन्त्री यादवको निर्देशनपछि आयल निगम सक्रिय, उपभोक्तालाई राहत: टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ।

हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएकी छन्। सोही निर्देशनअनुसार निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाइएको जनाएको छ।

निगमका अनुसार दैनिक मागअनुसार एलपी ग्यासको आपूर्ति भइरहे पनि केही सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ।

त्यसैगरी, काठमाडौं उपत्यकामा बढी माग हुने ग्यास ब्रान्डको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ। साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौज्दात नगर्न निगमले अनुरोध गरेको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवले बजारमा उपभोक्ताको हितलाई केन्द्रमा राख्दै अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै वितरण प्रणालीमा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएकी थिइन्। निगमले सोही निर्देशनलाई कार्यान्वयन गर्दै ग्यास आपूर्तिलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउने कदम अघि बढाएको जनाएको छ।

प्रकाशित: १६ साउन २०८३ ११:३३ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast