ज्ञानपुञ्ज सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि नवीन माविलाई

हिमाल प्रेस ९ भदौ २०८३ २०:०५ | Tuesday, August 25, 2026
ज्ञानपुञ्ज सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि नवीन माविलाई

बुटवल- बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को च्याम्पियन नवीन औद्योगिक कदरबहादुर रीता मावि बनेको छ।

मंगलबार भएको फाइनलमा सैनामैना पर्रोहा परमेश्वर माबिलाई १–० गोल अन्तरले पराजित गर्दै नवीनले उपाधि चुमेको हो। नवीनले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ।

उपविजेता सैनामैनाले भने नगद ३१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो। नवीनका तर्फबाट समूह ए र बी गरी दुई टिम प्रतिस्पर्धामा उत्रेको थियो। समूह बीले उपाधि चुमेको हो।

ज्ञानपुन्ज इङ्लिस सेकेन्डरी स्कुल बुटवल १३ नहरपुरको आयोजनामा जिल्लास्तरीय प्रतियोगितामा भएको प्रतियोगितामा नवीन बीका विप्लव गुरुङ उत्कृष्ट गोलकिपर, नवीन ए समूहका कुञ्ज गुरुङ बेस्ट डिफेन्डर तथा सैनामैना पर्रोहाका सुभाष नेपाली प्लेयर अफ टुर्नामेन्टबाट पुरस्कृत भए।

फाइनलमा नवीनको जितमा एकमात्र गोल निमेष शाहीले गरे। खेल सुरु भएको पहिलो मिनेटमा नै उनले आर्कषक गोल गरे। उनी खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए।

भदौ १ गतेदखि सुरु भएको प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समापन गरेकी हुन्। समापन समारोहमा बोल्दै उनले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन्। उनले बुटवल उपमहानगरपालिकाले खेलकुदको विकासका लागि चार करोड रुपैयाँ बढी बजेट छुट्याएर काम गरेको दाबी गरिन्।

यस्तै विद्यालयका प्राचार्य शंकर भण्डारीले आफूहरूले विद्यालय तहबाटै कुनै एउटा खेललाई पहिचान बनाउन सक्दा त्यसले खेलाडी उत्पादनमा योगदान गर्ने उद्देश्यले सेभेन एसाइड प्रतियोगिता सुरु गरिएको बताए। साथै उनले विद्यार्थीमा खेलप्रति रुचि बढाउनका लागि तलाउमा डुंगा फाल्ने काम आफूहरुले गरेको बताए।

एन्फा रुपन्देहीका महासचिव हिमाल गौचन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, प्राचार्य शंकर भण्डारी, सिद्धार्थ केबलकारका प्रवन्धक नरबहादुर कार्कीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ४४ टिमले भाग लिएका थिए।

प्रकाशित: ९ भदौ २०८३ २०:०५ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast