काठमाडौँ- न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले यसपटक पनि जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्। जनकपुरले मंगलबार आफ्नो समाजिक प्लेटफर्मबाट ३५ वर्षे निसमलाई आउदो सिजनका लागि अनुबन्ध गरेको जनाएको छ ।
निसमले सन् २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सोक्रममा उनले ९ खेलमा १ सय ९६ माथिको स्ट्राइक रेट र ३५ माथिको औषतमा २ सय ४७ रन बनाएका थिए । सबैभन्दा ठुलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपीएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड दिइएको थियो ।
पहिलो सिजनको एनपीएलमा निसमले जनकपुरबाट खेल्दै ७ विकेट पनि लिएका थिए । जनकपुरबाट ‘क्याप’ खेलाडीको कोटामा खेलेका उनी समर्थकमाझ निकै लोकप्रिय छबि बनाएका थिए । ‘जिम्मीले मैदानमा मात्र होइन, हाम्रा समर्थकहरुको मनमा पनि विशेष स्थान बनाएका छन्, उनको निष्ठा र जनकपुर बोल्ट्ससँगको सम्बन्ध आफैंमा एउटा सुन्दर कथा हो । च्याम्पियन बनेको पहिलो सिजनको त्यो नायक आज फेरि आफ्नै घर फर्किएका छन्,’ जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले विज्ञप्तीमा भनेका छन् ।
तर दोस्रो सिजन उनी पोखरा एभेन्जर्स लागेका थिए । ४ खेलमात्र खेलेका उनले एक अर्धशतकसहित ९९ रन बनाउनुका साथै ५ विकेट लिएका थिए । निसम यसपटक टेस्ट कोटामै जनकपुरबाट खेल्ने छन्।


