काठमाडौँ- नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको छायांकन मंगलबार सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। गत जेठ १ गते पर्वतको कुस्मा नगरपालिका–स्थित आर्थर डाँडाखर्कबाट सुरु भएको छायांकन पहिलो चरणमा १५ दिन चलेको थियो।
त्यसक्रममा मुख्य अभिनेता विजय बरालको दाहिने हातको नाडीमा चोट लागेपछि सुटिङ केही समयका लागि स्थगित गरिएको थियो। उनी पूर्ण रूपमा स्वस्थ भएपछि दोस्रो चरणको छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ। निर्देशक सरोज पौडेलका अनुसार दुई चरणमा विभाजन गरिएको छायांकन सम्पन्न गर्न ४० दिन लागेको हो। उनले गुणस्तरीय फिल्म निर्माणका लागि कलाकार तथा प्राविधिक टोलीले गरेको मेहनतप्रति आभार व्यक्त गरेका छन्।
‘सिन्दुरे जात्रा’मार्फत निर्देशक पौडेल तथा कलाकार विजय बराल र अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरेका छन्। यसअघि उनीहरू नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ मा सँगै काम गरेका थिए।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का र रजनी गुरुङलगायत कलाकारको अभिनय रहेको छ।
सविन अधिकारी र वसन्त न्यौपानेको लेखन तथा सरोज पौडेलकै कथामा आधारित फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन्। पदम बहादुर श्रेष्ठ ९बाबु० डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको छ।
फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।


