ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न समयबद्ध कार्ययोजना कार्यान्वयनमा : अर्थमन्त्री

हिमाल प्रेस २३ असार २०८३ १७:३९ | Tuesday, July 7, 2026
6
SHARES
ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न समयबद्ध कार्ययोजना कार्यान्वयनमा : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकारले समयबद्ध रणनीति र कार्ययोजना अनुसार काम गरिरहेको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१-८६) र शीघ्र सुधारात्मक क्रियाकलापअनुसार सम्बन्धित निकायले तोकिएको समयसीमाभित्र काम गरिरहेको जानकारी दिए।

उनका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अर्थमन्त्रीको संयोजकत्वमा निर्देशन समिति तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको नेतृत्वमा समन्वय समिति गठन गरिएको छ भने नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले फोकल निकायका रूपमा काम गरिरहेको छ।

अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको जानकारी पनि दिए।

उनले ग्रे लिस्टबाट बाहिरिन आवश्यक सुधारका क्षेत्र पहिचान गर्न क्षेत्रगत जोखिम मूल्यांकन प्रतिवेदन तयार भइसकेको र राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदनको अन्तिम मस्यौदा तयार भइरहेको बताए। त्यसका आधारमा जोखिम न्यूनीकरणका थप कदम चालिने उनको भनाइ छ।

प्रकाशित: २३ असार २०८३ १७:३९ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast