काठमाडौँ- फिफा विश्वकप २६ मा बेल्जियमलाई स्तब्ध बनाउँदै स्पेन अन्तिम ४ मा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले निर्णायक गोल गर्दे स्पेनलाई सेमिफाइनलमा पुर्याए।
८८औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन्। जसको फाइदा उठाउँदै मिकेल मेरिनोले स्पेनलाई अग्रता दिलाएका थिए। त्यसअघि यसअघि खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, त्यसको ११ मिनेटपछि चार्ल्स डे केटलेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो।
खेलमा स्पेन अधिकांश समय बल पोजिसनमा रह्यो । १७औं पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमिफाइनल यात्रा हो । स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टरफाइनलमै रोकिएको छ । यसअघि सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको बेल्जियम सन् २०१८ को विश्कपमा तेस्रो बनेको थियो । सन् २०२२ को विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो ।
अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ। फ्रान्स यसअघि नै मोरक्कोसँग जित निकाल्दै सेमिफाइनल आइपुगेको छ।



