विप्लव नेतृत्वको पार्टीबाट अलग समूहको भेला, नेकपा ब्यूताउने निर्णय

हिमाल प्रेस २० असार २०८३ २०:४९ | Saturday, July 4, 2026
20
SHARES
विप्लव नेतृत्वको पार्टीबाट अलग समूहको भेला, नेकपा ब्यूताउने निर्णय

बुटवल- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियान थालेको छ। शनिबार रुपन्देहीमा पहिलो जिल्ला भेला गरेर पुनर्गठन अभियान थालेका हुन्।

तत्कालीन स्थायी समिति सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्का असल लगायतका नेतालाई निष्कासन गरेपछि तिनै नेताहरूको अगुवाईमा नेपाल कम्यूनिष्ट पार्टी ब्यूत्याउने अभियान सुरू गरेका छन्।

पार्टीका कार्यालय सदस्य भेषराज भुषालको प्रमुख आतिथ्यता एवं कार्यालय सदस्य वसन्त श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको छ।

भेलाले केन्द्रीय सदस्य शरद वलीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ भने विष्णु तिवारी ‘मुकेश’ को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला समिति गठन गरिएको छ। यसअघिका जिल्ला सदस्यहरूलाई सचिवालयमा समेट्दै आवश्यक सदस्य थप गरिएको जनाइएको छ।

भेलाबाट देवदह, ओमसतिया र रोहिणी क्षेत्रको इन्चार्जमा मदन थारु (जसवन्त), सिद्धार्थनगर नगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको इन्चार्जमा शंकर ज्ञवाली, मायादेवी र गैडहवा गाउँपालिकाको इन्चार्जमा अविराम यादव तथा सचिवमा रामवचन यादव चयन गरिएको केन्द्रीय सदस्य शदर वलीले बताए।

उनले विधिपूर्वक संगठनमा कुरा राख्न नपाएपछि केन्द्रीय कमिटिबाट डन्डा लगाएपछि नयाँ ढंगले पार्टी पुर्नगठन गर्नुपरेको बताए।

त्यसैगरी बुटवल उपमहानगरपालिकाको इन्चार्जमा महेन्द्र टण्डन र सचिवमा दीपक पौडेल, कञ्चन गाउँपालिकाको इन्चार्जमा सोमनाथ शर्मा, तिलोत्तमा नगरपालिकाको इन्चार्जमा श्रीधर ज्ञवाली, मर्चवारी गाउँपालिकाको इन्चार्जमा नन्दलाल लोध तथा सियारी गाउँपालिकाको सचिवमा अनवर यादव चयन भएको केन्द्रीय सदस्य जया पौडेलले बताइन्।

सैनामैना क्षेत्रको संगठनात्मक जिम्मेवारी जिल्ला कार्यालयले हेर्ने निर्णय गरिएको छ। यस्तै पार्टीका जनवर्गीय संगठनहरुको समेत जिम्मेवारी तोकिएको जनाइएको छ।

भेलामा बोल्ने नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै जनपक्षीय राजनीतिक शक्ति निर्माण गर्न आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले संगठन विस्तार, वैचारिक स्पष्टता र जनआधारित आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विप्लव नेतृत्वको नेकपा (माओवादी) मा विभिन्न कारण देखाउँदै स्थायी, केन्द्रीय सदस्यगरी ४० जनालाई कारबाही गरिएको भेला गर्ने पक्षले जनाएका छन्।

प्रकाशित: २० असार २०८३ २०:४९ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast