काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले राज्यको संरक्षण पाएका व्यक्तिहरू नै मिडिया संस्था र राजनीतिक नेतृत्वलाई लक्षित गर्दै त्रास फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै उनले गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्ने उद्देश्यले राजधानीका मुख्य सडक अवरुद्ध पारिएको, मिडिया हाउसअघि सवारीसाधन तेर्स्याइएको तथा प्रमुख प्रतिपक्षी दलका नेताको घरसम्म पुगेर मानसिक दबाब सिर्जना गर्ने प्रयास गरिएको दाबी गरे।
मल्लले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई सामान्य जरिवाना गरेर छाड्नु स्वीकार्य नहुने भन्दै सरकारले कडा कानुनी कारबाही गर्नुपर्ने बताए। उनले मिडिया हाउसअघि अवरोध सिर्जना गर्ने सवारीसाधन जफत गरी लाखौँ रुपैयाँ जरिवाना गरिनुपर्ने मागसमेत गरे।
उनले भने,‘राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो। राज्यले यस्तो काम गर्नेहरूलाई पाँच सयको चिट काटेर घर पठाउने काम कुनै हालतमा हुन सक्दैन।’
उनले थपे,‘यिनलाई लाखौँको जरिवाना तिराउनुपर्छ। त्यो गाडी जफत गरिनुपर्छ। जसले योजना बनाएर यस्तो गतिविधि गरेको हो, उनीहरूमाथि तत्काल छानबिन गरी कारबाही हुनुपर्छ।’
सांसद मल्लले सरकारले सर्वसाधारण नागरिकको हितमा प्रभावकारी काम गर्न नसकेको आरोप पनि लगाए।



