काठमाडौँ- राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्तदुरुस्त, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले अनुगमन गरेको छ।
सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचारजन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो।
केन्द्रका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको १०० बुँदे कार्यक्रममा उल्लेख भएबमोजिम मुलुकमा सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कामलाई प्राथमिकता दिएको बताए।
देशभरका सरकारी तथा अर्धसरकारी निकायसहित शैक्षिक प्रतिष्ठानहरूमा समेत अनुगमन गर्ने जिम्मेवारी रहेको सतर्कतासम्बद्ध टोलीले जेठ महिनामा दैनिक कम्तीमा १५ देखि २० वटा कार्यालय गई संकलन गरेको विवरणका आधारमा नियम उल्लंघन गर्ने कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने गरेको प्रवक्ता भट्टले जानकारी दिए।
अनुगमन टोलीलाई तोकिएको सार्वजनिक निकायमा पुगी त्यहाँ कार्यरत कर्मचारीको हाजिरी उपस्थितिसहित अनुशासन र उपयुक्त पोसाकसहित आफ्नो कार्यकक्षमा बसे, नबसेकोलगायतका विवरण संकलन गरी प्राप्त कैफियतका आधारमा सच्चिनका लागि व्यवस्थापन पक्षलाई रायसुझाव दिने र संकलित विवरण केन्द्रमा पेस गर्नुपर्ने जिम्मेवारी प्रदान गरिएको केन्द्रले जनाएको छ।
केन्द्रको रणनीतिअनुसार पछिल्ला दिनमा ‘छड्के’ अनुगमनको कामलाई तीव्रता दिएको प्रवक्ता भट्टले बताए। उनले भने,‘नेपाल सरकारको नीति तथा कार्यक्रमबमोजिम देशभरका सार्वजनिक निकायहरूमा उच्च प्राथमिकतासाथ अनुगमनको काम भइरहेको छ। यसले सुशासन, पारदर्शिता र जवाफदेहितासहित जनमुखी र सेवाग्राहीमैत्री कामकाजमा सघाउ पुर्याउने छ। राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्ष र क्षेत्रबाट यस अभियानमा साथ सहयोग प्राप्त हुने विश्वास लिएका छौँ।’




