काठमाडौँ- नेपाल रन फाइव के च्यालेन्ज यही वैशाख २६ गते आयोजना हुने भएको छ।
एथलेटिक्स परिवार, नेपालले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै चाँगुनारायण नगरपालिकाको सहयोगमा वैशाख २६ गते भक्तपुरको चाँगुनारायणमा नेपाल रन फाइव के च्यालेन्ज गर्न लागिएको जनाएको हो।
खुला महिला, पुरुष, ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ ५ किलोमिटर, १८ वर्षभन्दा मुनिका युवा, महिला, पुरुष र ३५ वर्षमाथिका भेट्रान महिलातर्फ ३ किलोमिटर दौडमा प्रतिस्पर्धा हुने प्रतियोगितामा करिब २५० भन्दा बढी खेलाडीहरूको भाग लिने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए।
दौड प्रतियोगिताको कुल बजेट ७ लाख ६६ हजार रुपैयाँ रहेको छ। दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई विभिन्न स्थान हुँदै पुन: नगरपालिका भवनमा पुगेर समापन हुने आयोजकले जनाएको छ।



