सांसदहरूले उठाए स्वास्थ्य, सुकुम्बासी, विपद् व्यवस्थापन, इबोला जोखिम र बाढीपीडितका समस्या

हिमाल प्रेस ६ जेठ २०८३ १२:४६ | Wednesday, May 20, 2026
12
SHARES
सांसदहरूले उठाए स्वास्थ्य, सुकुम्बासी, विपद् व्यवस्थापन, इबोला जोखिम र बाढीपीडितका समस्या

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुम्बासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा सांसद ज्ञानु पौडेलले प्रत्येक नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन्। उनले देशभर स्वास्थ्य सेवाको पहुँच र सहज उपलब्धता अझै सुनिश्चित हुन नसकेको बताउँदै रुपन्देहीस्थित ९३ वर्ष पुरानो भीम अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव रहेको बताइन्।

‘अस्पतालमा एन्टी–रेबिज खोप, सर्पदंश उपचारका लागि आवश्यक औषधी तथा जीवनरक्षक औषधीको अभाव छ। तत्काल व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्दछु’, पौडेलले भनिन्।

त्यसैगरी, सांसद खडकबहादुर बुढाले प्राकृतिक प्रकोपबाट प्रभावित तथा वास्तविक सुकुम्बासीको समयमै व्यवस्थापन गर्नुपर्ने बताए। उनले प्राकृतिक विपद्बाट क्षति पुगेका सडक, खानेपानी तथा अन्य पूर्वाधार आयोजनाको पुनःस्थापना कार्य शीघ्र अघि बढाउन माग गरे।

सांसद डा.अर्जुनकुमार कार्कीले इबोला भाइरस संक्रमणको जोखिमप्रति सरकार गम्भीर हुनुपर्ने बताए। उनले विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले इबोला संक्रमणलाई गम्भीर स्वास्थ्य जोखिमका रूपमा लिएको भन्दै अफ्रिकी मुलुकमा कार्यरत नेपाली नागरिकका कारण नेपाल पनि जोखिममा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरे।

सांसद गुरुप्रसाद बरालले भने सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि स्थायी बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकले असहज अवस्था भोगिरहेको उल्लेख गर्दै तत्काल उपयुक्त व्यवस्थापन गर्न आग्रह गरे।

सांसद साजिदा खातुन सिद्धिकीले मुलुकमा सडक दुर्घटनाका घटना बढ्दै गएको भन्दै सडक सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको बताइन्। उनले सडक सुधार तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिन्।

सांसद मदनकृष्ण श्रेष्ठले अति अपांगता भएका व्यक्तिको संरक्षण र हेरचाहका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए। सांसद समिना मियाँले बकर इदका अवसरमा तय गरिएका परीक्षाहरू स्थगित गरी वैकल्पिक व्यवस्था गर्न आग्रह गरिन्। उनले देशको विविधता र सांस्कृतिक संवेदनशीलतालाई सम्मान गर्नुपर्ने धारणा राखे।

यसैगरी सांसद यशोधाकुमारी बरालले हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका–५ मा आएको भीषण बाढीका कारण ठूलो क्षति पुगेको भन्दै प्रभावित नागरिकका लागि तत्काल राहतको व्यवस्था गर्न माग गरिन्।

सांसद रमेश सापकोटाले पनि हुम्लामा आएको असामान्य बाढीका कारण ठूलो क्षति पुगेको तर सडक पहुँचको अभावमा राहत सामग्री प्रभावित क्षेत्रमा पुग्न नसकेको बताए।

उनले तत्काल बजेट विनियोजन गरी राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्दै विपद् व्यवस्थापनका लागि दीर्घकालीन संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: ६ जेठ २०८३ १२:४६ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast