अर्थतन्त्रको आकार ६६ अर्ब पुग्ने अनुमान

हिमाल प्रेस १५ वैशाख २०८३ १६:१४ | Tuesday, April 28, 2026
अर्थतन्त्रको आकार ६६ अर्ब पुग्ने अनुमान

काठमाडौँ- राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरेको छ। काठमाडौँमा मंगलबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै कार्यालयले अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान रहेको जनाएको हो।

आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान सार्वजनिक गरिएको थियो। त्यसैगरी  आर्थिक वृद्धिदर मापन गर्नका लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन प्रयोग गरिएको कार्यालयले जनाएको छ।

जसअनुसार चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोख्रेलले जानकारी दिए।

आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.५४ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान छ। नीति निर्माणका क्रममा तथ्यांकको अधिकतम प्रयोगका लागि समेत तथ्यांक कार्यालयका आँकडा महत्वपूर्ण हुने उनको भनाइ छ। पोखे्रेलले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नै तथ्यांक बनाउने गरेको बताए।

आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.५२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ भने वित्तीय तथा बिमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ६.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

सेवा क्षेत्रको योगदान उच्च

कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६१.८ प्रतिशत रहने अनुमान गरिएको छ। प्राथमिक क्षेत्रको योगदान २४.५ प्रतिशत र द्वितीय क्षेत्रको १३.७ प्रतिशत रहने कार्यालयले जनाएको छ।

विद्युत, वित्त र व्यापार क्षेत्रमा उच्च वृद्धि

क्षेत्रगत विवरणअनुसार विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर २०.९३ प्रतिशत रहने अनुमान गरिएको छ, जुन सबैभन्दा उच्च हो। त्यसपछि वित्तीय तथा बिमा क्षेत्र ९.१६ प्रतिशतले वृद्धि हुने देखिएको छ।

त्यस्तै थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान १४.०९ प्रतिशत रहने अनुमान गरिएको छ।

अन्य प्रमुख आर्थिक सूचक

कुल उत्पादन : ९९ खर्ब २२ अर्ब ९० करोड (अनुमान)
मध्यवर्ती उपभोग : ४१ खर्ब २७ अर्ब ३२ करोड
कुल स्थिर पुँजी निर्माण : २६.२६ प्रतिशत
कुल राष्ट्रिय बचत : ४४.७७ प्रतिशत
वस्तु तथा सेवा आयात : ३४.५२ प्रतिशत
विप्रेषण : ३३.०२ प्रतिशत

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१३ अमेरिकी डलर हुने अनुमान गरिएको छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ डलर रहने उल्लेख छ।

प्रकाशित: १५ वैशाख २०८३ १६:१४ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast