काठमाडौँ- प्रारम्भिक बालविकास (ईसीडी) तथा शिक्षालाई थप व्यवस्थित, बालमैत्री र सिकाइमैत्री बनाउन समावेशी ड्रइङ डिजाइनका नमुनाहरू सार्वजनिक गरिएको छ। यी नमुनाहरू हिमाल, पहाड र तराई तीनै भौगोलिक क्षेत्रलाई ध्यानमा राखी तयार पारिएका हुन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रारम्भिक बालविकास बालबालिकाको समग्र जीवन र सामाजिक विकासको आधार भएकाले यस क्षेत्रमा गुणस्तरीय वातावरण सुनिश्चित गर्न डिजाइन नमुनाहरू विकास गरिएको हो।
नेपालको संविधान तथा अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकाससहित आधारभूत शिक्षामा पहुँचको अधिकार सुनिश्चित गरेको सन्दर्भमा यो पहल गरिएको जनाइएको छ।
चार वर्ष पूरा गरेका बालबालिकालाई कक्षा एकका लागि तयार पार्ने उद्देश्यले सञ्चालन हुने एक वर्षे प्रारम्भिक बालविकास कार्यक्रमलाई अझ प्रभावकारी बनाउन भौतिक संरचना बालमैत्री हुनुपर्नेमा जोड दिइएको छ। यसका लागि प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्यूनतम मापदण्ड (२०६७, संशोधन २०७५) अनुरूप कक्षाकोठा व्यवस्थापन सहज बनाउन यी नमुना डिजाइन तयार गरिएको हो।
एक महिनामै एसईई नतिजा सार्वजनिक गर्ने सरकारको निर्णय कति उचित?
केन्द्रले हाल सञ्चालनमा रहेका कक्षाकोठालाई न्यूनतम लगानीमै मापदण्डअनुसार कसरी सुधार गर्न सकिन्छ भन्ने मार्गदर्शन पनि प्रदान गरेको छ। साथै, नयाँ भवन निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डसमेत डिजाइनमार्फत स्पष्ट पारिएको छ।
पुस्तिकाको कार्यान्वयनबाट कक्षाकोठा थप बालमैत्री बन्ने र बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। कक्षाकोठा व्यवस्थापनको मुख्य जिम्मेवारी शिक्षक र विद्यालय व्यवस्थापन समितिको हुने भएकाले डिजाइनले उनीहरूलाई सहयोग पुर्याउने विश्वास लिइएको छ।
केन्द्रले संघ, प्रदेश र स्थानीय तहका सरकार, दातृ निकाय, गैरसरकारी संस्था तथा समुदायसँग सहकार्य गरेर यसको प्रभावकारी कार्यान्वयन गर्न आह्वान गरेको छ।
पुस्तिका निर्माणमा सहयोग पुर्याउने विज्ञ तथा सरोकारवालाप्रति केन्द्रले आभार व्यक्त गरेको छ।




