काभ्रेको संस्कृति फार्म एण्ड रिसर्च सेन्टरलाई २० लाख राशिको रोटरी अवार्ड

विजय नेपाल ४ वैशाख २०८३ १९:१६ | Friday, April 17, 2026
16
SHARES
काभ्रेको संस्कृति फार्म एण्ड रिसर्च सेन्टरलाई २० लाख राशिको रोटरी अवार्ड

पोखरा- यस वर्षको गोपाल-कमला राजभण्डारी रोटरी अवार्ड-२०२६ काभ्रेको संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले प्राप्त गरेको छ। शुक्रबारदेखि पोखरामा सुरु १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको अवसरमा २० लाख राशिको उक्त अवार्ड प्रदान गरिएको हो।

पोखराको इभेन्ट सेन्टरमा आयोजित कन्फरेन्समा उक्त अवार्डको घोषणा गर्दा उपस्थित रोटरियनले बधाई दिँदै निकैबेर ताली पिटेका थिए। डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला, भोकेसनल अवार्ड कमिटीका अध्यक्ष एवं पास्ट डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, दीपकराज भण्डारी लगायतले उक्त सेन्टरका सञ्चालक श्रीकृष्ण धिताल र रुपा प्याकुरेललाई नगद २० लाखसहित अवार्ड हस्तान्तरण गरे।

काभ्रेको नमोबुद्ध नगरपालिका-१, फूलबारीस्थित उक्त फार्म २०७४ सालदेखि सञ्चालनमा आएको हो। ३७ वर्षीय श्रीकृष्ण धिताल र उनकी पत्नी रुपा प्याकुरेलले सञ्चालन गरेको उक्त फार्म खानेपानी, सरसफाइका अलावा खाद्य सुरक्षासमेतका विषयमा काम गर्दै आएको छ।

यति ठूलो राशिको अवार्ड पाएपछि खुसी व्यक्त गर्दै सेन्टरका निर्देशक धितालले अवार्डवापतको रकम पनि सेन्टर सञ्चालनमै लगाउने बताए। नवीनतम् प्रविधिको पाइलिङ गर्ने र क्रमशः गाउँगाउँमा प्रवर्द्धन गर्ने उनको भनाइ छ।

उनका अनुसार सो सेन्टरले खाद्य सुरक्षामा काम गर्नुका साथै नर्सरी सञ्चालन एवं तालिमसमेत दिने गरेको छ। साथै, खाद्यसुरक्षा र पर्यावणीय क्रियाकलापबारे वातावरणमैत्री र नवीनतम प्रविधि, नवीनतम् खालको प्रविधि, नवीकरण ऊर्जा, खानेपानी तथा सरसफाइमा क्रियाशील रहँदै आएको छ। हाल यहाँ करिब १० जना कर्मचारी कार्यरत् छन्।

मेकानिकल इन्जिनियरिङ पृष्ठभूमि रहेका श्रीकृष्ण हाल काठमाडौं विश्वविद्यालयमा कृषि विषय अध्यापनसमेत गर्दै आएका छन्। गाउँ फर्किएर आफ्नै घरमा उद्यम गरेका उनी यतिबेला सबेको प्रेरणाको स्रोत बनेका छन्।

उक्त अवार्ड रोटरीले पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई प्रदान गर्दै आएको छ। यसअघि १० लाख राशि रहेको सो पुरस्कार २०२४ देखि वृद्धि गरी २० लाख पुर्‍याइएको थियो।

हरेक वर्ष प्रदान गरिने यो पुरस्कारको मुख्य उद्देश्य रोटरी आचारसंहिताको वास्तविक मर्मअनुसार निःस्वार्थ र समर्पित भावनासाथ आफ्नो पेसागत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने कुनै व्यक्ति, व्यक्तिहरूको समूह वा संस्थालाई सम्मान गर्नु हो।

यसैबीच डा. सुनिती गोपाल आचार्य रोटरी अवार्डबाट रोटरी क्लब अफ दरबार स्वायरका डा. प्रज्ञा कर्माचार्य राजभण्डारी र स्वास्थ्य क्षेत्रमा कार्यरत डा. मिलन महर्जन सम्मानित भए। उनीहरुलाई जनही एक एक लाख राशिसहित डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला र पूर्व गभर्नर जयाराज्यलक्ष्मी शाहले सम्मान गरे। यसै गरी डा. योगेन्द्र तुलाचन रोटर्‍याक्ट अवार्ड रोट¥याक्ट क्लब अफ काठमाडौं मिडटाउनले प्राप्त गरेको छ। क्लब अध्यक्ष स्वस्तीका पराजुलीले अवार्ड ग्रहण गरिन्।

संसारको सबैभन्दा पुरानो सेवामूलक संस्था रोटरी इन्टरनेसनल सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको हो। यसका प्रमुख संस्थापक पाउल हेरिस् हुन्। विश्वभर करिब २ सय देशमा सञ्जाल रहेको रोटरीका १२ लाखभन्दा बढी सदस्य छन्।

रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औँ डिष्ट्रिक्ट कन्फरेन्स शुक्रबारदेखि पर्यटकीय राजधानी पोखरामा सुरु भएको छ। तीनदिने सम्मेलनमा नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिएका छन्।

डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफू पोखराबाटै प्रतिनिधित्व गर्दै गभर्नर भएकाले पनि गृहनगरीमा ऐतिहासिक सम्मेलन गर्न पाउनु सुखद पक्ष भएको बताए। सम्मेलनको प्रमुख अतिथि रोटरी इन्टरनेशनल प्रेसिडेन्ट प्रतिनिधि राजा गोविन्दासामी छन्।

दोस्रो दिन रोटरीका विभिन्न कमिटीमार्फत संचालित कार्यक्रमबारे छुट्टाछुट्टै समूहमा छलफल हुुनेछ भने अन्तिम दिन रोटा क्वीज एवं आगामी २०२८/२९ का लागि डिष्ट्रिक्ट गभर्नर निर्वाचन हुनेछ। तीन दिन नै प्यानल डिस्कसनका कार्यक्रम पनि हुनेछन्।

प्रकाशित: ४ वैशाख २०८३ १९:१६ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast