वैशाख १२ गते ‘राइनो संरक्षण गोल्डकप’

हिमाल प्रेस ६ वैशाख २०८३ २१:३५ | Sunday, April 19, 2026
10
SHARES
वैशाख १२ गते ‘राइनो संरक्षण गोल्डकप’

नवलपरासी- दुर्लभ एकसिङ्गे गैँडा संरक्षणको सन्देश दिनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ‘राइनो संरक्षण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता यही वैशाख १२ देखि २३ गतेसम्म मध्यविन्दु नगरपालिका–२, स्थित राइनो रंगशालामा सञ्चालन हुने छ।

आयोजक राइनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीका अनुसार आठौँ संस्करणका रूपमा आयोजना हुन लागेको सो प्रतियोगितामा विभागीय क्लबसहित देशभरबाट ११ तथा भारतको कोलकत्ताबाट एउटा क्लबको सहभागिता रहने छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा विगतदेखि नै गैँडालगायत वन्यजन्तु संरक्षणका अभियान सञ्चालन हुँदै आएका सन्दर्भमा खेलकुदमार्फत पनि संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागिएको उनले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

खेलमार्फत वन्यजन्तु तथा वातावरण संरक्षणप्रति चेतना अभिवृद्धि गराउने उद्देश्यसहित आयोजना हुन लागेको ‘राइनो संरक्षण गोल्डकप’ सकारात्मक पहल भएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले बताए। प्रतियोगितामा विजेतालाई आठ लाख र उपविजेतालाई चार लाख रूपैयाँ पुरस्कार प्रदान गरिने छ।

प्रतियोगितालाई अझ प्रभावकारी बनाउँदै आगामी पाँच वर्षभित्र एकसिङ्गे गैँडा पाइने दक्षिण एसियाली राष्ट्रहरुबीच प्रतिस्पर्धा गराई ‘दक्षिण एसियाली राइनो संरक्षण एसिएन कप’ तथा १० वर्षभित्र एकसिङ्गे र दुईसिङ्गे गैँडा पाइने देशहरूबीच ‘राइनो संरक्षण मैत्रीपूर्ण वर्ल्डकप’ फुटबल प्रतियोगिता आयोजना गर्ने योजना रहेको प्रतियोगिताका प्रचारप्रसार संयोजक विष्णुप्रसाद शर्माले बताए।

प्रकाशित: ६ वैशाख २०८३ २१:३५ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast