सुर्खेत- कर्णाली प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३८ हजार बढी परीक्षार्थी सहभागी हुँदैछन्।
कर्णालीका १० जिल्लाबाट गरी कुल ३८ हजार ३७९ जना परीक्षार्थीहरू सहभागी हुन लागेका हुन्। परीक्षा आज (बुधबार) चैत १९ गते बिहीबारदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार साधारणतर्फ ३० हजार ५४ जना, प्राविधिक धारतर्फ एक हजार ४०१ जना र ग्रेडवृद्धितर्फ ६ हजार १२४ जना गरी कुल ३ हजार ३७९ परीक्षार्थीहरू सहभागी हुँदैछन्। शिक्षा विकास निर्देशक दीपा हमालले गत वर्षको तुलनामा यस वर्ष ६ हजार ६०६ जना बढी विद्यार्थीहरूले परीक्षा दिन लागेको बताइन्। गत वर्ष ३१ हजार ७७३ जना विद्यार्थीहरू सहभागी थिए।
उनका अनुसार कर्णालीमा १६१ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा सञ्चालनका लागि कुल पाँच हजार ९ जना जनशक्तिहरू परिचालित गरिनेछ, जसमा केन्द्राध्यक्ष १६१ जना, सहायक केन्द्राध्यक्ष २५५ जना, निरीक्षकहरू एक हजार ९१८ जना, परीक्षा सहायक ३८३ जना, कार्यालय सहयोगी ७६६ जना र सुरक्षाकर्मीहरु दुई हजार ४१८ जना रहेका छन्।
बुधबारसम्म कर्णालीका १० जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिकाहरू पुगिसकेको, केन्द्राध्यक्ष लगायतलाई परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न अभिमुखीकरण गराउनेलगायतका सबै कामहरू पूरा भइसकेको निर्देशक हमालले बताइन्। विभिन्न जिल्लामा परीक्षा दिने तयारीमा रहेका दृष्टिविहीन विद्यार्थीलाई सहयोग राख्न सकिने, जेल तथा हिरासतमा रहेकालाई सोही स्थानबाट परीक्षा दिने व्यवस्थासमेत मिलाइएको छ।
त्यसका लागि केन्द्राध्यक्षले सम्पूर्ण अधिकार प्रयोग गर्नेछन्। परीक्षामा हुलदंगा तथा अमर्यादित क्रियाकलाप गर्नेहरूलाई अन द स्पटमै कारबाही गर्ने अधिकार केन्द्राध्यक्षलाई दिइएको भन्दै उनले यस वर्ष परीक्षालाई मर्यादित र अनुशासित बनाउने गृहकार्य पनि भइरहेको जानकारी दिइन्।
यस वर्ष परीक्षा सकिएपछि एक महिनाभित्र नतिजा प्रकाशन गर्ने तयारी रहेको छ। उत्तरपुस्तिकाहरू जाँच गर्ने विभिन्न विकल्पमा छलफल भइरहेकोले यस वर्ष एक महिनाभित्र नतिजा प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ।





