काठमाडौँ- महोत्तरीको प्रकौलीस्थित सैनिक ब्यारेकनजिक भएको दुर्घटनाका मृतक तथा घाइतेहरूको पहिचान खुलेको छ। महोत्तरीको प्रकौलीस्थित सैनिक ब्यारेकनजिक रूखमा च्यापिएर मृत्यु भएका दुई र घाइते चार जनाको पहिचान खुलेको हो।
जलेश्वरबाट जनकपुरधामतर्फ आउँदै गरेको ज १ ह ४८५० नम्बरको टेम्पोमाथि रूख खस्दा टेम्पोमा सवार दुई जना यात्रुको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–२० बस्ने अन्दाजी ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने तपेश्वर मलिकका ३३ वर्षीय छोरा राहुल मलिकको मृत्यु भएको जानकारी दिए।
टेम्पो चालक जलेश्वर नगरपालिका–११ बस्ने ५२ वर्षीय हरेन्द्र ठाकुर घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको र प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै महोत्तरी एकडारा गाउँपालिका–३ बस्ने ४३ वर्षीया फेकनी देवी मलिक (तपेश्वर मलिककी श्रीमती) लाई पनि उपचारका लागि जनकपुर रिफर गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ।
यसैगरी जनकपुरधाम–१२ बस्ने रामबाबु मलिकका १७ वर्षीय छोरा धिरज मलिक र जनकपुरधाम–२० बस्ने १४ वर्षीया रिया पण्डित (सकुन्तला देवीकी छोरी) दुर्घटनामा घाइते भएका छन्। दुवै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले सैनिक ब्यारेकनजिक गुडीरहेको टेम्पोमाथि रूख ढलेको जानकारी दिए। उनले हावाहुरीका कारण रूख ढलेको बताए।
टेम्पोमा चालकसहित ६ जना सवार रहेकोमा दुई जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको उनले जानकारी दिए। डीएसपी भट्टले मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताए।
घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।



