अर्थमन्त्री डा. स्वार्णिम वाग्ले
काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधानप्रति वर्तमान सरकार पूर्ण बफादार रहेको बताएका छन्।
बिहीबार अर्थमन्त्रालयमा बसेको अन्तर–सरकारी वित्त परिषद्को बैठकमा अर्थमन्त्री वाग्लेले संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने र अधुरा विषयहरूलाई सहमतिमार्फत नै संशोधन गरिने समेत बताए।
करिब दुई तिहाइ नजिकको सरकारले संविधानमाथि छेडखानी गर्ने हो कि भन्ने आशंका नगर्न उनले आग्रह गरे। मन्त्री वाग्लेले संविधानले नै संशोधनको विधि तय गरिदिएको अवस्थामा त्यसैलाई टेकेर सरकारले अघि बढ्ने स्पष्ट पारे।
उनले नेपालको संघीय व्यवस्था अनुसार वित्त बाँडफाँटको बिषयलाई अधिकार मात्रै नभई क्षमतालाई पनि सँगै जोड्न आवश्यक रहेको उल्लेख गरे। उनले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा आन्तरिक र बाह्य प्रतिकूलताहरूले लक्ष्य हासिल गर्न निकै चुनौति देखिएको बताए।
त्यस्तै उनले प्रदेश र स्थानीय तहमा रास्वपाको उपस्थिति नरहे पनि सबैसँग मिलेर नै अघि बढ्ने प्रतिबद्धता जनाए।



