काठमाडौँ- डिल्लीबजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गरिन् भन्ने ठ्याक्कै सम्झना छैन।
एउटै कुराको सम्झना भने उनलाई स्पष्ट छ, विगतका चुनावमा मत दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न सकेनन्। कतिपय त फर्केर पनि आएनन्।
‘अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,’ उनले भनिन्, ‘हामीले दुःख पाए पनि हाम्रो नातिनातिना र छोराछोरीले दुःख नपाउन् भन्ने चाहना छ।’
उनकी नातिनी विदेशमा छिन्। रेग्मीलाई लाग्छ देशमै रोजगारीको राम्रो वातावरण भइदिए युवापुस्ता विदेश जान बाध्य हुने थिएनन्। ‘देशमै काम पाइयो भने किन विदेश बस्नुपर्थ्यो र?’ उनी प्रश्न गर्छिन्।
डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले भने विगतलाई पूर्ण रूपमा निराशाजनक रुपमा लिएका छैनन्। उनी देशमा केही काम भएको मान्छन्, तर जनताको अपेक्षाअनुसार पर्याप्त भने हुन सकेको छैन। ‘धेरै पटक मतदान गरियो। विगतमा केही पनि भएन भन्न मिल्दैन,’ उनी भन्छन्, ‘तर हाम्रो अपेक्षा जति छ, त्यति काम भएन।’ उहाँको विचारमा अहिलेको प्रमुख आवश्यकता सुशासन र रोजगारी हो।
नयाँ पुस्ता, विशेषगरी ‘जेनजी’ को अपेक्षा सम्बोधन गर्नुपर्नेमा उनको जोड रहेको छ। ‘युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,’ उनले भने। रासस





