सुर्खेत- दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक क्षेत्रमा नेपाली कांग्रेस र अर्को क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका छन्। क्षेत्र नम्बर-१ बाट कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित भएका हुन् भने क्षेत्र नम्बर-२ बाट रास्वपाका रमेशकुमार सापकोटा विजयी भएका छन्।
सुर्खेत-१ मा कांग्रेसका खड्काले २६ हजार ८९७ मत प्राप्त गर्दै नेकपा एमालेका ध्रुवकुमार शाहलाई पराजित गरेका हुन्। शाहले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा खड्काका दाइ तथा कांग्रेसका नेता पूर्णबहादुर खड्कालाई हराएका थिए।
यसपटक भने विष्णुबहादुर खड्काले परिवारको राजनीतिक विरासत जोगाउँदै जित हासिल गरेका छन्। खड्का नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सुर्खेत जिल्ला उपसभापति बनेका थिए। लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका उनले पार्टी संगठनमा लामो समयदेखि काम गर्दै आएका छन्।
२०२४ कात्तिक ६ गते वीरेन्द्रनगर-७ मा जन्मिएका खड्का राजनीतिसँगै व्यवसायमा पनि सक्रिय छन्। उनी सुर्खेतमा यातायात तथा औषधी व्यापारमा सफल व्यवसायीका रूपमा चिनिन्छन्।
उनले माया अस्पताल, औषधी वितरण सेवा तथा माया पेट्रोल पम्प सञ्चालन गर्दै आएका छन्।
यातायात क्षेत्रबाट संसद्सम्म सापकोटाको यात्रा
सुर्खेत निर्वाचन क्षेत्र नम्बर-२ बाट रास्वपाका रमेशकुमार सापकोटा निर्वाचित भएका छन्। उनले ३० हजार ३७८ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नारायण कोइरालालाई पराजित गरेका हुन्। कोइरालाले १६ हजार १९६ मत प्राप्त गरेका छन्।
२०४८ सालदेखि अधिकांश निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको सुर्खेत-२ मा यसपटक भने रास्वपाले वर्चस्व तोडेको छ। रास्वपाले कर्णाली प्रदेशबाट जित्न सकिने सम्भावित क्षेत्रका रूपमा सुर्खेत-२ लाई प्राथमिकतामा राखेको थियो।
सापकोटा कांग्रेस पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन्। यसअघि उनी कांग्रेसको नगरसचिव तथा उपत्यका नगर समितिको सदस्यसमेत रहेका थिए। हाल उनी रास्वपा सुर्खेतका सभापति हुन्।
२०३६ मंसिर १५ गते वीरेन्द्रनगर-७ इत्राममा जन्मिएका सापकोटा विगत २५ वर्षदेखि यातायात क्षेत्रमा सक्रिय छन्। उनी काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेशका प्रमुखका रूपमा काम गरिरहेका छन्।
सांगठनिक रूपमा कांग्रेस र एमालेले सापकोटालाई कमजोर चुनौतीका रूपमा लिएका भए पनि उनले चुनावमा उल्लेख्य मतान्तरसहित विजय हासिल गरे।






