काठमाडौँ- नेपालको संसदीय इतिहासमा अभूतपूर्व परिवर्तन ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाई बहुमत नजिक पुगेको छ। यस ऐतिहासिक जितसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
रास्वपाले प्रत्यक्षतर्फका १६५ सिटमध्ये १२४ सिटमा सानदार जित हासिल गरेको छ भने समानुपातिकमा पनि ८८ लाख मतगणना हुँदा रास्वपाले ४३ लाख मत पाएको छ।
अब इन्जिनियरिङ पृष्ठभूमि र र्याप संगीतबाट युवा पुस्तामाझ चर्चित ३६ वर्षीय बालेन नेपालको इतिहासमै सबैभन्दा कम उमेरको जननिर्वाचित प्रधानमन्त्री बन्नेछन्। २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगर प्रमुखका रूपमा स्वतन्त्र उम्मेदवारी दिएर राजनीतिमा उदाएका बालेन केही महिनाअघि मात्रै राजीनामा दिएर रास्वपामा आबद्ध भएका थिए।
रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको ‘फेस’ का रूपमा प्रस्तुत गरेपछि देशव्यापी रूपमा सिर्जना भएको ‘बालेन लहर’ ले मतदातामा ठूलो प्रभाव पारेको देखिन्छ। रास्वपाले परम्परागत राजनीतिक शक्तिहरूलाई स्तब्ध पार्दै देशैभर आफ्नो वर्चस्व कायम गरेको हो। चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाजस्ता पुराना दलहरू किनारा लागेका छन्।
नेपालमा भएको यो राजनीतिक उलटफेरले विश्वको ध्यान खिचेको छ। अन्तर्राष्ट्रिय प्रतिष्ठित सञ्चारमाध्यमहरूले समेत बालेनको उदयलाई निकै चासोका साथ समाचारका विषय बनाइरहेका छन्। विदेशी सञ्चारमाध्यमहरूले बालेनलाई दक्षिण एसियामा परम्परागत राजनीतिको अन्त्य गर्ने युवा ‘आइकन’ का रूपमा चित्रण गरेका छन्।
बालेनको जितलाई विश्वभरका राजनीतिक विश्लेषकहरूले ‘डिजिटल डेमोक्रेसी’ र ‘पपुलिज्म’ को सफल फ्युजनका रूपमा व्याख्या गरिरहेका छन्। विशेषगरी युवा र प्रविधिमैत्री नेतृत्व आउँदा दुई देशबीचका पुराना सन्धिसम्झौता र सीमा विवादमा कस्तो अडान रहनेछ भन्नेमा कूटनीतिक कौतूहल बढेको छ।
अलजजिराले आफ्नो अनलाइन संस्करणमा ‘र्यापरबाट नेता बनेका बालेनको रास्वपा नेपालको चुनावमा भारी मतले अगाडि’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। समाचारमा उल्लेख छ, ‘गत वर्षको युवा विद्रोहयता नेपालको राजनीतिलाई नयाँ स्वरूप दिइरहेको सुधारवादी लहरको प्रतिनिधित्व शाहको पार्टीले गर्दछ।’
बीबीसीले अनलाइन संस्करणमा ‘जिततर्फ उन्मुख र्यापर-राजनीतिज्ञ बालेन शाहद्वारा नेपालका पूर्वप्रधानमन्त्री पराजित’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। समाचारमा बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेको विषय प्रमुखताका साथ उठाइएको छ।
बालेनको नामले चिनिने शाह लामो समयदेखि नेपाली र्याप संगीतमा आबद्ध रहेको बीबीसीले उल्लेख गरेको छ। ‘विशेषगरी उनको ‘बलिदान’ बोलको गीतले युट्युबमा करोडौँको भ्युज बटुलेको छ’, बीबीसीले लेखेको छ। विगत दुई दशकदेखि नेपालको राजनीतिमा गठबन्धन सरकारहरूको लुकामारी चलिरहेको र यसमा विशेषगरी तीनवटा दल हाबी रहेको समाचारमा जनाइएको छ।
द गार्जियनले ‘आफ्नो पार्टीको सानदार चुनावी जितसँगै पूर्वर्यापर बालेन्द्र शाह नेपालको प्रधानमन्त्री बन्ने निश्चित’ शीर्षकमा समाचार प्रकाशन गरेको छ।
समाचारमा लेखिएको छ, ‘र्यापरबाट राजनीतिज्ञ बनेका र जेनजी क्रान्तिका लोकप्रिय नायक बालेन्द्र शाहको पार्टीले अभूतपूर्व मतान्तरले चुनाव जितेपछि उनी नेपालको आगामी प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ।’
फाइनान्सियल टाइम्सले ‘नेपालको निर्वाचनमा र्यापरबाट राजनीतिज्ञ बनेका बालेनको सानदार जित’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। गत सेप्टेम्बरमा युवाहरूको नेतृत्वमा भएको आन्दोलनले नयाँ संसद्को निर्वाचन गराउन बाध्य पारेको समाचारमा उल्लेख छ। ‘काठमाडौँका ३६ वर्षीय पूर्वमेयर शाहले ओलीलाई उनकै निर्वाचन क्षेत्र झापामा पराजित गरेका छन्, जुन देशको पूर्वी समथर भूभागमा भारतको सीमा नजिक पर्दछ’, फाइनान्सियल टाइम्सले लेखेको छ।
द वाल स्ट्रिट जर्नलले ‘र्यापरबाट राजनीतिज्ञ बनेका व्यक्ति नेपालको नयाँ प्रधानमन्त्री बन्ने निश्चित’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। ‘गत वर्षको युवा-नेतृत्वको आन्दोलनले तत्कालीन प्रधानमन्त्रीलाई सत्ताच्युत गरेपछि भएको पहिलो आम निर्वाचनमा बिहीबार लाखौँ नेपालीले मतदान गरेका थिए। निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार बालेनको पार्टी संसद्का २७५ सिटमध्ये स्पष्ट बहुमततर्फ अग्रसर देखिएको छ’, समाचारमा उल्लेख छ।
द न्युयोर्क टाइम्सले ‘जेनजी युवा पुस्ताको साथ पाएका र्यापर बालेन शाह भारी बहुमतसहित नेपालको नेतृत्व गर्ने दिशामा’ शीर्षकको समाचार लेखेको छ। ‘राजनीतिक पुराना खेलाडीहरूलाई विस्थापित गर्ने जेनजीको शक्तिलाई समर्थन गर्दै नेपाली मतदाताहरूले पूर्व र्यापरको नेतृत्वमा रहेको पार्टीलाई स्पष्ट बहुमत सुम्पिएका छन्’, समाचारमा उल्लेख छ।
इन्डिया टुडेको अनलाइन संस्करणमा ‘र्यापरबाट नेता बनेका बालेन शाहको रास्वपा नेपालको निर्वाचनमा एकछत्र जितको नजिक’ शीर्षकमा समाचार लेखेको छ।
रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार बालेनले झापा-५ निर्वाचन क्षेत्रमा चार पटक प्रधानमन्त्री भइसकेका र नेपालको सबैभन्दा ठूलो दलमध्येको एक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरको फराकिलो अन्तरले पराजित गरेको समाचारमा उल्लेख छ।
साउथ चाइन मर्निङ पोस्टले ‘र्यापरबाट राजनीतिज्ञ बनेका बालेन शाहद्वारा पूर्वप्रधानमन्त्री पराजित’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। रास्वपाले जेनजी उम्मेदवारहरूलाई समेटेर र गत सेप्टेम्बरको आन्दोलनका माग भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने आवाजलाई मुखरित गर्दै धेरै युवा मतदाताहरूको समर्थन बटुलेको छ। यद्यपि पार्टीका अध्यक्ष स्वयम् भ्रष्टाचारका काण्डहरूमा मुछिएको समाचारमा उल्लेख छ।





