फाइल तस्बिर
काठमाडौँ– मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापामा १२९ मिलीमिटरभन्दा बढी वर्षा भएको हो।
कास्की, लमजुङ, तनहुँ र चितवन, इलाममा पनि भारी वर्षा (५० मिलीमिटरभन्दा माथि) वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार अझै केही दिन बदली कायम रहने छ।
उनले तनहुँ मकवानपुर, बारालगायत जिल्लाहरूमा वर्षा भएको बताए। गण्डकीभन्दा पश्चिम नेपालमा भने आज वर्षा भएको छैन। आज विभिन्न क्षेत्रमा हुरीबतास र चट्याङसहित असिनापानीसमेत परेको थियो। यसअघि हिजो चितवनमा १२ घण्टामै १२६ मिलीमिटर वर्षा भएको थियो।
विभागले आज साँझ जारी गरेको बुलेटिनमा हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ।
गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै भोलि शनिबार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।





