काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबार सुनुवाइ गर्ने भएको छ ।
न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज हेर्दाहेर्दैमा राखेर सोमबार सुनुवाइ हुने भएको हो ।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आजका लागि पेस गर्न आदेश दिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । यदि यो किनारा लागेमा लामिछानेले सांसदको शपथ खान पाउनेनपाउने निर्क्यौल हुन्छ। सम्पत्ति शुद्धीकरणको मुद्दा यथावत् रहदासम्म लामिछाने संसद भवन छिर्न पाउने छैनन्। यदि यो मुद्दा फिर्ता भएमा भने उनी संसद्सँगै अन्य लाभका पदमा रहन सक्छन्।





