रास्वपा उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

हिमाल प्रेस २८ फागुन २०८२ १८:१६ | Thursday, March 12, 2026
70
SHARES
रास्वपा उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साह ‘कमल’ लाई कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्च अदालतलका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलाजसले साहलाई कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले फागुन १८ गते साहको उम्मेदवारी रद्द गरेको थियो। उजुरी नै नपरेको र मौन अवधिमा आफ्नो उम्मेदवारी रद्द गरिएको भन्दै साहले निर्वाचन आयोग र कर्जा सूचना केन्द्रलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई कालोसूचीमा नराख्न आदेश दिएको हो। यो आदेशसँगै साहको उम्मेदवारी कायम रहने बाटो खुलेको रिटमा बहस गरेका अधिवक्ता दीपेन्द्र झाले बताए। यद्यपि यो विषयमा अन्तिम निर्णय शुक्रबार हुने उनको भनाइ छ।

साहको उम्मेदवारी रद्द गर्ने निर्णय गरे पनि निर्वाचन आयोगले मतपत्रबाट रास्वपाको चुनाव चिह्न हटाएको थिएन। मतदाताहरूले उम्मेदवारी रद्द भएका साहको चुनाव चिह्नमा सबैभन्दा बढी मत हालेको बताइएको छ।

तर, निर्वाचन आयोगले भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव निर्वाचित भएको भन्दै प्रमाणपत्र हस्तान्तर गरेको छ। सर्वोच्चको अन्तरिम आदेशअनुसार हुनेगरी तत्कालका लागि नेकपा उम्मेदवार यादवलाई आयोगले प्रमाणपत्र हस्तान्तरण गरेको हो।

यादवलाई प्रमाणपत्र हस्तान्तरण गरे पनि आयोगले पनि निर्वाचन परिणाम घोषणा गरेको थिएन। आयोगले बिहीबारमात्रै धनुषा–१ को चुनावी परिणाम घोषणा गरेको हो।

आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपाका यादवले १० हजार ४३०, नेपाली कांग्रेसका रामपल्टन साहले ९ हजार ५०२ र नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत ल्याएका छन्।

प्रकाशित: २८ फागुन २०८२ १८:१६ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast