एसईई : भत्ता नबढाए परीक्षा व्यवस्थापनमा असहयोग गर्ने केन्द्राध्यक्षहरूको चेतावनी

हिमाल प्रेस १७ चैत २०८२ १२:१० | Tuesday, March 31, 2026
120
SHARES
एसईई : भत्ता नबढाए परीक्षा व्यवस्थापनमा असहयोग गर्ने केन्द्राध्यक्षहरूको चेतावनी सर्लाहीको मलङ्गवा–२ स्थित पब्लिक माविमा गत वर्षको एसईई। फाइल तस्बिर : विश्वनाथ ठाकुर/रासस

काठमाडौँ- मोरङका केन्द्राध्यक्षहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुनै लाग्दा भत्ता तथा सुविधा वृद्धि नगरे परीक्षा व्यवस्थापनमा असहयोग गर्ने चेतावनी दिएका छन्।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० को एसईई पर्सी बिहीबारदेखि सुरु हुँदैछ। सोही सन्दर्भमा मोरङका केन्द्राध्यक्षहरूले शिक्षा विकास तथा समन्वय एकाइमार्फत बोर्डलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

केन्द्राध्यक्षहरूले विगत केही वर्षदेखि भत्ता तथा खर्चसम्बन्धी माग राख्दै आए पनि हालसम्म कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। उनीहरूले समयअनुसार पारिश्रमिक परिमार्जन नगरे परीक्षा व्यवस्थापनमा सहयोग गर्न नसक्ने बताए।

पत्रमा हाल कायम भत्ता अत्यन्त न्यून रहेको भन्दै वृद्धि गर्न माग गरिएको छ। केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको भत्ता हाल ८०० रुपैयाँ रहेकामा एक दिनको तलब बराबर गर्न माग गरिएको छ।

त्यसैगरी निरीक्षकको भत्ता ३५० रुपैयाँबाट बढाएर दैनिक तलब बराबर, परीक्षा सहायकको ३०० बाट १००० रुपैयाँ, कार्यालय सहयोगीको २०० बाट ७०० रुपैयाँ बनाउन माग गरिएको छ।

यस्तै, स्टेसनरी खर्च २२०० बाट ५०००, विविध खर्च १००० बाट ३०००, शौचालय तथा सरसफाइ खर्च ४०० बाट ४००० रुपैयाँ पुर्‍याउनुपर्ने माग राखिएको छ।

प्रश्नपत्र तथा उत्तरपुस्तिका ढुवानीका लागि हाल कुनै व्यवस्था नभएको भन्दै ५००० रुपैयाँ छुट्याउनुपर्ने मागसमेत गरिएको छ।

प्रकाशित: १७ चैत २०८२ १२:१० | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast