काठमाडौँ- एक समय पत्रकारिता, वैचारिक बहस र ‘वैकल्पिक राजनीति’को भाष्य निर्माणमा आशा जगाएका रवीन्द्र मिश्रका लागि काठमाडौँ-१ फेरि एकपटक कठोर राजनीतिक यथार्थ बनेको छ। प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा राप्रपाका उम्मेदवार मिश्र तेस्रो स्थानमै सीमित भए। र, त्यससँगै यस क्षेत्रमा उनले हारको ह्याट्रिक पूरा गरे।
बिहीबार सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना विजयी भइन्। उनले १५ हजार ४ सय ५५ मत प्राप्त गरिन्। कांग्रेसका प्रबल थापा ६ हजार ३ सय ६४ मतसहित दोस्रो स्थानमा रहे। राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्र भने ३ हजार ९ सय ७२ मतमा खुम्चिए।
एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत पाए। काठमाडौँ-१ मिश्रका लागि नयाँ मैदान होइन। यो क्षेत्र उनको निरन्तर राजनीतिक प्रयोग र महत्वाकांक्षाको प्रयोगशाला जस्तै बन्यो। तर मतदाताले भने तीनपटकसम्म उनलाई निर्णायक भरोसा दिन सकेनन्। उनको विचार र गतिमा सहमत हुन सकेनन् काठमाडौँ एकका नागरिक।
रवीन्द्र मिश्र नेपाली समाजमा पहिचान बनाएका नाम हुन्। लामो समय अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसी नेपाली सेवामा काम गरेर उनी पत्रकारितामा विश्वसनीय अनुहार बने। हुन त उनी बीबीसीभित्र पनि विवादित नै रहेको केही उनका सहकर्मीले मधुर स्वरमा सुनाउँछन्।
उनी आम मानिसमा शालीन भाषा, स्पष्ट प्रस्तुति र समसामयिक विषयमा टिप्पणीका कारण उनले पाठक-श्रोता माझ एक अलग छवि बनाएका थिए। यही छविले उनलाई राजनीतिमा ‘वैकल्पिक सम्भावना’का प्रतीकका रूपमा पनि स्थापित गर्यो।
यसअघि मिश्रले सामाजिक कार्यमा पनि सक्रियता देखाएका थिए। सन् २००१ मा उनले ‘हेल्प नेपाल नेटवर्क’ (एचएनएन) नामक सामाजिक संस्था स्थापना गरे, जसले विश्वभरका नेपालीहरूबाट सहयोग जुटाएर नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य र शिक्षा सम्बन्धी परियोजनाहरू सञ्चालन गर्दै आएको उनको दाबी छ।
यो संस्था १४ मुलुकमा फैलिएको छ र पूर्ण रूपमा स्वयंसेवकहरूबाट सञ्चालित भनिन्छ। संस्थाको प्रशासनिक खर्चका लागि विदेशमा बस्ने नेपाली दाताहरूबाट लाखौँ रूपैयाँको एन्डोमेन्ट फन्ड जुटाइएको थियो, जसले मिश्रको अन्तर्राष्ट्रिय सञ्जाल र विदेशी फन्डरेजिङ क्षमताको प्रमाण हो।
यसबाहेक उनले आफ्ना पुस्तकहरू ‘भूमध्य रेखा’, ‘अर्थहीनताभित्र अर्थ खोज्दा’ र ‘खाना पुगोस् दिना पुगोस्’ बाट प्राप्त रोयल्टी पनि दान गरेको बताएका छन्। २०७४ सालको निर्वाचनमा उनी विवेकशील-साझा पार्टीका तर्फबाट काठमाडौँ-१ मा उम्मेदवार बनेका थिए। त्यो चुनाव निकै प्रतिस्पर्धात्मक रह्यो।
कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९ सय ३६ मत ल्याउँदा मिश्र १० हजार १ सय १८ मतमै सीमित भए। करिब ८ सय मतको अन्तरले उनी पराजित भए, तर त्यसले उनलाई एक गम्भीर वैकल्पिक शक्तिको प्रतिनिधि नेताका रूपमा चिनायो। त्यसपछिको पाँच वर्षमा मिश्रको राजनीतिक यात्राले अनेक मोड लियो।
विवेकशील-साझा पार्टीभित्रको वैचारिक मतभेद, नेतृत्व विवाद र संगठनात्मक असमञ्जसले उनलाई विवादको घेरामा ल्यायो। कहिले ‘राजतन्त्रसहितको हिन्दु राष्ट्र’को बहस त कहिले पार्टी एकता र विघटन, यी सबै घटनाले उनको राजनीतिक छविमा मिश्रित प्रभाव पारे।
समर्थकका लागि उनी वैचारिक साहसका प्रतीक भए भने आलोचकका लागि अस्थिर र अनिश्चित राजनीतिक दिशा लिएका नेता मिश्रले सुरुमा साझा पार्टी स्थापना गरेका थिए, जसको मुख्य उद्देश्य वैकल्पिक राजनीति र युवा प्रेरणा रहेको उनकै वेबसाइट रविन्द्र मिश्र डटकमले प्रष्ट पार्छ।
सन् २०१७ मा यो पार्टी उज्वल थापाको विवेकशील नेपाली दलसँग मिलेर विवेकशील साझा पार्टी बन्यो। तर, २०१९ मा वैचारिक र कार्यशैलीका मतभेद भन्दै उनले पार्टी फुटाए। फेरि २०२० मा दुवै पार्टी मिलेर विवेकशील साझा पार्टी पुनः गठन भयो, जसमा १३० सदस्यीय केन्द्रीय समिति र २६ सदस्यीय सचिवालय थियो।
यद्यपि, २०२१ मा फेरि फुट भयो, जसमा मिलन पाण्डेले अलग समूह बनाए। मिश्रले २०२२ मा पार्टी अध्यक्षबाट राजीनामा दिएपछि आफ्नो समूहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विलय गरे। यो विलयपछि उनी राप्रपाको वरिष्ठ उपाध्यक्ष बने। मिश्रका वैचारिक परिवर्तनहरू पनि उल्लेखनीय छन्।
सुरुमा साझा पार्टीको वैचारिक आधार सहभागितामूलक लोकतन्त्र र उदार कल्याणकारी अर्थव्यवस्था थियो, जसलाई उनले ‘लेफ्ट-धार’ को रूपमा वर्णन गरेका थिए। तर २०२१ मा उनले ‘राष्ट्र माथि धारणा’ (नेशन एभव नेशन) को अवधारणा ल्याए, जसमा संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रहको माग थियो।
यो कदमलाई धेरैले प्रतिगामी ठाने, जसले पार्टी फुटको कारण बन्यो। पछि, राप्रपामा प्रवेश गरेपछि उनी राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्रको पक्षधर बने, जसलाई नेपालको राजनीतिक अस्थिरतासँग जोडेर हेर्ने गरिन्छ। यी परिवर्तनहरूले उनको छविलाई ‘अस्थिर विचारधारा’ को रूपमा चित्रित गरेको छ, जसमा प्रगतिशील वैकल्पिक राजनीतिबाट दक्षिणपन्थी राजावादी धारतर्फको यात्रा समावेश छ।
२०७९ को निर्वाचनमा उनले राप्रपाबाट उम्मेदवारी दिए। त्यसबेला पनि काठमाडौँ-१ मा उनको प्रतिस्पर्धा कांग्रेसका प्रकाशमान सिंहसँगै भयो। परिणाम निकै झिनो रह्यो। सिंहले ७ हजार १ सय ४३ मत ल्याउँदा मिश्र ७ हजार ११ मतमै रोकिए। मात्र १ सय ३२ मतले उनी पराजित भए। त्यो हारले मिश्रलाई ‘लगभग जितेको तर जित्न नसकेको’ नेताको रूपमा चित्रित गर्यो।
यसपटकको चुनाव भने उनको अघिल्ला अनुभवभन्दा फरक र कठोर रह्यो। नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँका सहरी मतदातामा उल्लेखनीय प्रभाव जमायो। त्यसको लाभ रञ्जुले उठाइन्। परम्परागत दल र नयाँ शक्तिको प्रतिस्पर्धाबीच मिश्रको मत आधार खुम्चियो र उनी तेस्रो स्थानमा झरे।
राजनीतिक विश्लेषकहरूका अनुसार मिश्रको बलियो पक्ष उनको बौद्धिक पृष्ठभूमि, अन्तर्राष्ट्रिय अनुभव र सभ्य सार्वजनिक छवि हो। तर संगठन निर्माणमा कमजोरी, राजनीतिक दिशा बारम्बार परिवर्तन हुनु र मतदातासँग स्थायी भावनात्मक सम्बन्ध निर्माण गर्न नसक्नु उनका कमजोरीका रूपमा देखिएका छन्।
काठमाडौँ-१ जस्तो राजनीतिक रूपमा सचेत र प्रतिस्पर्धात्मक क्षेत्रमा जित हासिल गर्न केवल छवि र भाषण पर्याप्त हुँदैन। बलियो संगठन, दीर्घकालीन राजनीतिक धैर्य र स्पष्ट वैचारिक मार्ग आवश्यक हुन्छ। मिश्रको राजनीतिक यात्राले यही पाठ बारम्बार दोहोर्याइरहेको देखिन्छ। तीन चुनाव, तीन हार।
काठमाडौँ-१ का मतदाताले उनलाई बारम्बार सुने, विचार गरे, तर अन्ततः अरू विकल्प रोजे। यसर्थमा रवीन्द्र मिश्र अहिलेका लागि यस क्षेत्रमा ‘हारमा ह्याट्रिक’ को प्रतीक बनेका छन्। तर राजनीति अन्तिम निष्कर्ष होइन, निरन्तर प्रक्रिया हो।
मिश्रका समर्थकहरू भन्छन्- उनको राजनीतिक अध्याय अझै समाप्त भएको छैन। आलोचकहरू भन्छन् – यदि उनले दिशा र संगठन दुवैमा स्पष्टता ल्याउन सकेनन् भने, काठमाडौँ-१ मा उनको राजनीतिक कथा यहीँ समाप्त पनि हुन सक्छ।





