फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको नैतिक पराजयपछि नेतृत्वले अरूलाई कारबाही गर्ने आधार गुमाएको बताएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयको सन्दर्भ कोट्याउँदै पाण्डेले यस्तो बताएका हुन्।
‘जब जनताले मतपत्रबाटै ‘अस्वीकार’ को कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा ‘कारबाही’ को धम्की दिनु कतिसम्म बुद्धिमानी होला? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ अब नेतृत्वसँग कति बाँकी छ?,’ पाण्डेले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्।
पार्टीको पुनःसंरचना गर्नुपर्नेमा जोड दिँदै उनले चुनावमा पराजयका लागि अरूमाथि दोष थोपार्नु उपयुक्त नभएको उल्लेख गरेका छन्।
पाण्डेले भनेका छन्, ‘नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि ‘सबै ठीक थियो, हामीलाई त फसाइयो’ भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो।’
चुनावमा ४०–५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान रहेको उनको भनाइ छ।
‘मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला–तर, अन्तर्घातले ५–१० हजार मत तलमाथि होला। देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो,’ उनले भनेका छन्।
नेता पाण्डेले फागुन २१ को चुनावमा जनताले एमालेको पद्धति र हठलाई पूर्णरूपमा अस्वीकार गरेको जिकिर गरेका छन्। उनले भनेका छन्,‘यो कुनै षडयन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्णरूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो।’
अब पनि तरिक नबदलिए पार्टी र देश दुवैका लागि घातक हुने उनले चेतावनी दिएका छन्।
‘अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र ‘अरू असफल होलान् र फेरि हाम्रो पाउला आउला’ भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ,’ उनले भनेका छन्।





