फाइल तस्बिर
काठमाडौँ– पाकिस्तानले आइतबार दक्षिणी अफगानिस्तानका केही सैन्य संरचना र आफूले ‘आतंकवादी लुकेका स्थान’ भनेका क्षेत्रहरूमा हवाई आक्रमण गरेको जनाएको छ। दुई देशबीच बढ्दो तनावको बीचमा पाकिस्तानले उक्त कारबाही गरेको हो।
सुरक्षा स्रोतका अनुसार अफगानिस्तानको कान्दाहारमा तालिबान प्रशासनका सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको घर नजिकैको प्राविधिक सहयोग र उपकरण भण्डारण स्थललाई पाकिस्तानी सेनाले लक्षित गरी नष्ट गरेको बताइएको छ। स्रोतहरूले उक्त स्थललाई सैन्य गतिविधिसँग सम्बन्धित पूर्वाधार भएको उल्लेख गरेका छन्।
पाकिस्तानी पक्षले अर्को आक्रमण कान्दाहारमा रहेको एउटा सुरुङमा केन्द्रित रहेको दाबी गरेको छ। उक्त सुरुङ अफगान तालिबान र पाकिस्तानविरुद्ध सक्रिय लडाकू समूहले प्रयोग गर्ने गरेको आरोप पाकिस्तानले लगाएको छ।
कान्दाहारका स्थानीय बासिन्दाहरूले आक्रमणका क्रममा आकाशमा लडाकू विमान उडिरहेको देखिएको र राति विस्फोटको आवाज सुनेको बताएका छन्। एक स्थानीयले भने, ‘सैन्य विमानहरू पहाडमाथि उडे, त्यसपछि विस्फोट भयो र आगो बलिरहेको देखियो।’
कान्दाहारको दक्षिणपूर्वमा पर्ने स्पिन बोल्डक क्षेत्रमा पनि हवाई आक्रमणको आवाज सुनिएको बासिन्दाहरूले बताएका छन्। त्यस्तै पूर्वी सीमावर्ती प्रान्त खोस्तमा शनिबार राति झडप भएको अधिकारीहरूले बताएका छन्।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार उक्त आक्रमणले कान्दाहारस्थित लागुऔषध पुनस्र्थापना केन्द्र र खाली कन्टेनरहरूमा केही क्षति पु¥याएको छ। उनले भने, ‘पाकिस्तानले लक्षित गरेको स्थलहरू यी दुई ठाउँबाट धेरै टाढा छन्।’
यसअघि पाकिस्तानले अफगानिस्तानबाट गरिएको भनिएको मानवविहीन विमान आक्रमणलाई विफल पारेको दाबी गरेको थियो। उक्त आक्रमण शुक्रबार राति रोकिएको बताइएको छ। अधिकारीहरूका अनुसार राजधानी इस्लामाबाद नजिकै रावलपिन्डीमा रहेको पाकिस्तानी सैन्य मुख्यालयसहित कम्तीमा तीन स्थानलाई लक्षित गरी आक्रमण प्रयास गरिएको थियो।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको कार्यालयले अफगान तालिबानले सर्वसाधारणलाई लक्षित गरेर ‘रेड लाइन पार गरेको’ आरोप लगाउँदै त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ।
पाकिस्तानमा भएका आक्रमणपछि इस्लामवादी चरमपन्थी समूहहरूलाई लक्षित गर्दै गत महिनादेखि पाकिस्तानले अफगानिस्तानविरुद्ध सैन्य कारबाही सुरु गरेको हो। तर तालिबान सरकारले भने अफगान भूमिबाट कुनै आतंकवादी गतिविधि सञ्चालन भएको वा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ। पाकिस्तानले भने आफ्नो कारबाही सर्वसाधारणलाई लक्षित नगरेको दाबी गरेको छ।
पछिल्लो समय सीमा क्षेत्रमा बारम्बार झडपहरू भइरहेका छन्। यसले व्यापारमा अवरोध सिर्जना गरेको छ र नजिकका बासिन्दाहरूलाई आफ्नो घर छोड्न बाध्य बनाएको छ।
अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसनले सार्वजनिक गरेको विवरणअनुसार फेब्रुअरी २६ यता भएका झडपहरूमा कम्तीमा ७५ जना सर्वसाधारणको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन्।-रासस / एएफपी





