काठमाडौँ- नेपाली राजनीतिको एउटा केन्द्र मानिने झापा क्षेत्र नम्बर ५ मा यसपटक अप्रत्याशित राजनीतिक सुनामी आएको छ। प्रतिनिधिसभा सदस्य चुनावमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दशकौँदेखिको विरासत भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहले ऐतिहासिक जित दर्ता गरेका हुन्।
२०४८ सालदेखि संसदीय राजनीतिको केन्द्रमा रहेका र झापा ५ लाई आफ्नो सुरक्षित किल्ला मान्दै आएका ओलीका लागि यो हार एउटा सिटको क्षतिमात्र होइन, बरु एउटा युगको अवसान र नयाँ पुस्ताको हस्तक्षेपको बलियो सन्देश हो। चारपटक प्रधानमन्त्री बनेका ओलीका लागि यो हार निकै नमिठो बनेको छ। नियमित प्रक्रियाअनुसार पाँच वर्षपछि अर्को चुनाव भएमा ओली ७९ वर्षका हुनेछन्। ओलीलाई पराजित गरेका बालेन ३६ वर्षका छन्।
अन्तिम मत परिणामअनुसार बालेन साहले ६८ हजार ३४८ मत प्राप्त गरी विजयको झण्डा गाडेका छन् भने उनका निकटतम प्रतिस्पर्धी केपी शर्मा ओली १८ हजार ७३४ मा सीमित भएका छन्। बालेनले ४९ हजार ६१४ मत को फराकिलो अन्तरले ओलीलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन्।
२०७९ को निर्वाचनमा ५२ हजार ३१९ मतका साथ सानदार जित निकालेका ओली यसपटक आफ्नै गढमा नराम्ररी पछारिए। आठ पटक चुनावी मैदानमा उत्रिएका ओलीको संसदीय जीवनमा यो दोस्रो ठूलो धक्का हो। यसअघि २०६४ को संविधानसभा निर्वाचनमा ओली माओवादीका विश्वदीप लिङ्देनसँग १२ सय मतान्तरले पराजित भएका थिए। ओलीलाई यसपटक बालेनको ‘क्रेज’ ले निकै पछाडि पारिदिएको हो।
झापा ५ मा ओलीको इतिहास बलियो थियो। उनले २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा भएका संसदीय चुनावमा उनले यही भूमिबाट विजयको माला लगाएका थिए। यद्यपि २०६४ पछिका निर्वाचनमा उनी राप्रपासँग चुनावी तालमेल गर्दै आफूलाई सुरक्षित गर्दै आएका थिए। २०७९ मा राप्रपासँगको तालमेल र कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ को भारी मतान्तरले पराजित गर्दा ओलीको शक्ति उच्च देखिन्थ्यो।
अघिल्लो चुनावमा ११ हजार ७४८ मतमा सीमित रहेको रास्वपा (२०७९ मा सुरेशकुमार पोखरेल) यसपटक बालेन साहको नेतृत्वमा चक्रवात बनेर आयो। हिजोका सहयात्री र अजेय मानिने ओलीका समीकरण बालेनको युवा जोस र एजेन्डाका अगाडि फिका साबित भएका छन्।
काठमाडौँको मेयर पद त्यागेर दम्भी राजनीतिसँग भिड्न ओलीको गृहक्षेत्र पुगेका बालेनको यो जितले नेपाली राजनीतिमा एउटा नयाँ मानक स्थापित गरिदिएको छ। पुराना दलको सिन्डिकेट र तालमेलको राजनीतिलाई मतदाताले अस्वीकार गर्दै परिवर्तनका पक्षमा आफ्नो अन्तिम फैसला सुनाएका छन्।
झापाको लालकिल्लामा घण्टीको प्रतिध्वनि गुन्जिरहँदा यसले बालकोट मात्र होइन, देशैभरका एमाले कार्यकर्तालाई एउटा गम्भीर प्रश्न छोडेको छ- के अब पुरानो विरासतले मात्रै जनताको मन जित्न सम्भव छ?
एमाले अध्यक्ष ओलीलाई उनका समकालीन नेताहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल दम्भी भनेर आरोप लगाउँछन्। उनी प्रधानमन्त्री रहेका बेला भदौ २३ मा काठमाडौँमा भएको जेनजी आन्दोलनमा बल प्रयोग गरे पनि त्यसमा कुनै पश्चात्ताप नगरी बालुवाटारबाटै हेलिकोप्टर चढेर भागेपछि ओलीलाई धेरैले दम्भी भन्न थालेका हुन्।
ओली सरकारमा रहेका बेला गत भदौ २३ गते भएको जेनजी युवाको प्रदर्शनमा १९ जना युवाको ज्यान गएपछि ओली युवापुस्तामा निकै अलोकप्रिय बनेका थिए। भदौ २४ गते संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबारसहित महत्त्वपूर्ण सरकारी संरचनामा र नेताहरूको निवासमा आगजनी गरिँदा ओली पदबाट राजीनामा दिई बालुवाटारबाट हेलिकोप्टर चढेर भागेका थिए।
दुई दिनको उक्त प्रदर्शनमा कम्तीमा ७५ जनाको ज्यान गएको थियो भने अर्बौँको भौतिक सम्पत्तिमा क्षति पुगेको थियो। ओलीले उक्त घटनालाई लिएर कुनै पश्चात्ताप नगरेपछि जनमानसमा उनीप्रति ठूलो आक्रोश थियो। उनी निर्वाचित भएको झापा ५ मा बालेन साह प्रतिस्पर्धी बनेपछि ओलीले साम्प्रदायिकता फैलाउने खालका अभिव्यक्ति दिएका थिए।
आफ्ना विरोधीसँगै सधैँ अहंकारभाव राख्ने र मन नपरेका दल वा नेतालाई लक्षित गरेर घृणाको राजनीति फैलाउने ओलीका चरित्र निकै आलोच्य रहँदै आएका छन्। राजनीतिक शैली, शासनशैली र निर्णयहरूका कारण उनको विभिन्न कोणबाट टीकाटिप्पणी हुँदै आएको छ। त्यही कमजोरी नसुधार्दा ओलीलाई जनताले नरुचाएका हुन्। यिनै कारणले गर्दा ओलीको मात्रै पराजय भएको छैन प्रभावशाली वामपन्थी दल नेकपा एमालेको अवस्था चौपट हुन पुगेको छ। झापा ५ मा एक लाख ६३ हजार ३७९ मतदाता छन्। त्यसमध्ये एक लाख ६ हजार ३७२ ले मतदान गरेका थिए।





