काठमाडौँ- प्रतिनिधिसभा सदस्यमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनै लागेका महावीर पुनले वियज जुलुस ननिकाल्ने भएका छन्। उनले मतदातालाई विजय जुलुसका लागि म्याग्दी सदरमुकाम बेनीमा नझर्न आग्रह गरेका छन्। पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जित पक्का भयो। त्यसैले फेरि पनि भन्छु- बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनुहोला।’
उनले विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीलाई उडाउन नहुने उल्लेख गरेका छन्। ‘आउँदा दिनमा विपक्षीहरूसँग नै मिलेर म्याग्दीको विकासको लागि काम गर्नुपर्छ। अनि नारा, जुलुस, भोजभतेरजस्ता आडम्बरी कुराहरु मलाई पटक्कै मन पर्दैन’, पुनले लेखेका छन्। उनले आफ्नो जितमा खुसीयाली मनाउन चाहनेलाई गाउँघरमा नै मनाउन अनुरोध गरेका छन्।
अन्तरिम सरकारमा शिक्षामन्त्री रहेका पुनले पदबाट राजीनामा दिएर चुनाव लडेका हुन्। जारी मत गणनामा उनी निकै अगाडि देखिएका छन्। पुनले २२ हजार एक सय ४५ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार आठ सय ६९ मतले पछ्याइरहेका छन्।





