पोखरा- निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं नवनिर्वाचित सांसद डा. महावीर पुनमाथि पोखरामा दुव्यर्वहार भएको छ। आफ्नो पुस्तक बेचिरहेका बेला पोखराको पृथ्वीचोकमा एक युवकले उनीमाथि दुव्यर्वहार गरेका हुन्। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ।
हालै प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेपछि उनी सोमबारदेखि पोखरामा पुस्तक बेच्न निस्किएका थिए। आफ्नो जीवनीमा आधारित पुस्तक बिक्रीका लागि अघिल्लो दिन नै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत समयतालिका सार्वजनिक गरेका थिए। सोही बमोजिम उनी अमरसिंह चोक र पृथ्वीचोकमा पुस्तक बेच्दै आफ्नो हस्ताक्षर दिन व्यस्त थिए, जसमा शुभचिन्तक एवं पाठकको त्यसबेला भिडभाड थियो।
पृथ्वीचोकमा पुस्तक बेचिरहँदा मुखमा मास्क र टाउकोमा हेलमेट लगाएका एक युवक देखा परे। उनले एक्कासि आफूलाई धकेलेको भन्दै सांसद पुनमाथि जथानाम भन्न थाले। जनताले प्रत्यक्ष निर्वाचित गरेको सांसदको काम किताब बेच्ने नभएको भनी चर्को स्वरमा बोलेका छन्।
उनी प्रश्न गर्छन्, ‘तपाईंको काम यो होइन, कारखाना चलाउने मान्छे सांसद किन भएको त? जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले किताब बेच्ने हो?’ तपाईंको काम यो होइन, जनताले कुन म्यान्डेट दिएका छन्, त्यही गर्नू न।’ नजिकै रहेका अर्का मान्छेले सम्झाउन खोज्छन्। ती युवक आक्रोशित मुद्रामा फेरि भन्छन्, ‘सभासदलाई सोध्न पाइन्नँ?’
पुनले पनि जनताले कारखाना चलाउन म्यान्डेट दिएको जवाफ फर्काउँछन्। ती युवकले फेरि प्रश्न गरेका छन्, ‘कारखाना चलाउने मान्छे किन सांसद उठेको त?’ पुन ती युवकको नजिक जान्छन्। सम्झाउन खोज्छन्। तर ती युवक फेरि जंगिन्छन्। भन्छन्, ‘तपाईंले मलाई किन धकेल्नुभको? ह्वाई यू पुस मी?’ उनी अंग्रेजी भाषामा पनि ‘किन धकेलेको’ भनी दोहोर्याउँछन्।
सडक छेउमा पुस्तक बिक्री भइरहेको बखत दुवैबीच यसरी विवाद भएको भिडियोमा प्रस्टै सुनिन्छ। केही समयपछि ती युवक ‘थुक्क’ भनी भुइँमा थुक्दै बाटो लाग्छन्। पुन फेरि आफ्नो पुस्तक बिक्रीमै लाग्छन्।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले पुस्तक बिक्रीको आम्दानी आविष्कार केन्द्रमै लगाउँदै आएका छन्। उनीमाथि यसरी भएको दुर्व्यवहारको सर्वत्र निन्दा गरिएको छ।
यसै क्रममा, जेनजी २.० ले विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जेनजी २.० का प्रवक्ता अबिन लिम्बूले देशका लागि विज्ञान, नवप्रवर्तन र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका पुनमाथि भएको यस्तो व्यवहार अत्यन्त दुःखद, निन्दनीय र अस्वीकार्य भएको जनाएका छन्। साथै सम्बन्धित निकायलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न आग्रह गरिएको छ।
पुनका आफन्तका अनुसार पुनले पोखरामा सोमबार करिब ७ सय प्रति पुस्तक बिक्री गरे। विद्यार्थीका लागि छुटसहित ५ सय र अन्यका लागि ७ सय मूल्य तोकिएको थियो। सोमबार करिब ४ लाख मूल्य बराबरको पुस्तक बिक्री भएको बताइएको छ। पुनसँग भेट्न र पुस्तक खरिद गर्न सर्वसाधारण, विद्यार्थी तथा युवाहरूको उल्लेख्य भीड लागेको थियो।
फुर्सद मिल्यो कि पुस्तक बिक्री गर्ने उनले चुनावको आचारसंहिताका कारण बिक्री रोकिएकोमा चुनावपछि फेरि अभियानमा निस्किएको बताए। डा. पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका थिए।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे। म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो। चुनावमा उम्मेदवार पुनलाई रास्वपाले साथ दिएको थियो। सांसद निर्वाचित उनलाई पोखरेली शुभचिन्तकले भने फूलमाला, खादासहित बधाई ज्ञापनसमेत गरेका थिए।






