मलाई बालेनप्रति विश्वास छ : प्रधानमन्त्री सुशीला कार्की

हिमाल प्रेस १ चैत २०८२ १३:२० | Sunday, March 15, 2026
86
SHARES
मलाई बालेनप्रति विश्वास छ : प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई बालेन्द्र शाह (बालेन) प्रति विश्वास रहेको बताएकी छन्। उनले भनिन्, ‘बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु। मलाई बालेनप्रति विश्वास पनि छ। केही होला भन्ने आशा छ।’

उनले प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव हार्लान् भनेर आफूले नसोचेको बताएकी छन्। कार्कीले रासससँगको अन्तरवार्तामा भनेकी छन्, ‘मैले त ओलीजी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ। उहाँको ३०/४० वर्ष राजनीति गरेको ठाउँ, उहाँको इष्टमित्र सबै भएको ठाउँ हो। अन्तिममा भेट्दा मैले ओलीजीलाई भनेको थिएँ- राजनीतिमा कस्तो हुन्छ भने मेरा परिवारका मानिस पनि कांग्रेस छन्। वर्षभरि पार्टीलाई धारे हात लाउँछन् तर भोट दिनेबेलामा त्यसैलाई दिन्छन्। तपाईंलाई भोट दिन्छन् भनेको थिएँ। त्यस्तो होला भन्ने त मलाई पनि लागेको थिए।’

उनले अब जनताले दिएको मतलाई सम्मान गर्नुपर्ने बताइन्। साथै निर्वाचनपछि अल्पमतलाई पनि जित्नेले बेवास्ता गर्न नहुने उनको भनाइ छ। ‘पुराना पार्टीलाई रास्वपाले सम्मान गर्नुपर्छ। सत्तापक्षले गलत गरेमा प्रतिपक्षले विरोध गर्नुपर्छ’, उनले भनिन्।

कार्कीले नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका मागहरू सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘खुलेआम भ्रष्टाचार रोख्नुपर्छ।’

कार्कीले सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने बताइन्। ‘त्यहाँ काम गर्ने कर्मचारीमा राजनीति हुने गरेको देखियो। हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्। आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने। अख्तियार देखाउने। केही सीप नलागे विवादमा परिन्छ हजुर भन्ने। त्यो मैले रद्दी देखेको छु। सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको छ।’

कार्कीले आफूले नेतृत्व लिँदा धेरै चुनौती रहे पनि त्यसलाई चिर्न सफल भएको बताइन्। उनले भनिन्, ‘आफैँलाई पनि काम गर्न सकिन्छ कि सकिँदैन भन्ने लागेको थियो। समय जम्मा छ महिनाको थियो। त्यसमाथि प्रहार धेरैले गरे। अविश्वास पनि गरे। हाम्रोविरुद्ध सिंगै पुराना दल उभिए। जेनजी हुँ भन्नेहरुले तुरुन्तै छोड पनि भने।

जेनजीको आन्दोलनलाई अपहरण गरेर आयौँ भने। त्यसबेला हामीलाई सहयोग गर्ने मान्छे एकदम कम थिए।’ उनले शान्ति र सहानुभूतिको कुरा धेरैतिरबाट नआएको उनले बताइन्। ‘हाम्रा पछाडि समर्थकको ठूलो पंक्ति र संगठन थिएन। हामी सीमित मान्छे सरकारमा थियौँ। हामीप्रति मानिसको विश्वास पनि थिएन। त्यसमाथि एउटा महिला भन्ने खालका टिप्पणी सुनिँदै थिए। तर मैले एक कानबाट सुनेँ, अर्को कानबाट उडाइदिएँ। आफ्नो काम छोडिनँ।’ उनले निर्वाचन सफल गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिइन्।

यसैगरी उनले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनबारे आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गरिने जानकारी दिइन्। उनले भनिन्, ‘त्यहाँ छलफल गरेर आउने निर्णय लिन्छौँ। अब हामीसँग धेरै समय पनि छैन। नयाँ जनादेश आइसकेको छ। नयाँ सरकारले पनि बाँकी प्रक्रिया अवश्य अघि बढाउनेछ।’

प्रकाशित: १ चैत २०८२ १३:२० | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast