काठमाडौँ- फिल्म ‘जिरो डिग्री’ को छायांकन सुरु भएको छ। कास्कीस्थित पोखराको अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै निर्माण टिमले फिल्मको छायांकन सुरु गरेका हुन्।
फिल्मको छायांकन अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुने निर्माण पक्षले जनाएको छ। छायांकन कार्य तालिका ३५ दिनको राखिएको छ। फिल्म निशाल पौडेलले छायांकन गर्दैछन्।
टिमले फिल्मलाई डार्क कमेडी शैलीको फिल्म भनेका छन्। टिमका अनुसार सडक तथा सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा केन्द्रित हुनेछ।
फिल्म मेघौली फिल्म्सको ब्यानरमा बन्न लागेको हो। फिल्ममा आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशन रहनेछ। पटकथा पनि उनीहरूले नै लेखेका हुन्। केही समय अघि फिल्ममा समावेश व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गरिएको थियो। विजय बरालको स्वर रहेको गीत दर्शकले रुचाएका छन्।
फिल्ममा अभिनेता विजय बराल र सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल, बासु खनाल लगायत कलाकारको अभिनय रहनेछ।





