काठमाडौँको पेप्सिकोला कागेश्वरी मनोहरा–९ स्थित गान्धी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दै नागरिक।
काठमाडौँ- गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहको राजनीतिक परिस्थितिपछि आज देशभर एकैसाथ प्रतिनिधिसभा सदस्यको निर्वाचन जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ। अधिकांश स्थानमा उत्साहजनक रूपमा मतदान भइरहे पनि केही स्थानमा बहिष्कार, विवाद र अवरोधका घटनाहरू देखिएका छन्।
दार्चुलाको अपिहिमाल गाउँपालिका-३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। स्थानीय मतदाताहरू मतदानमा नआएपछि मतदान प्रक्रिया नै सुरु नभएको हो। यसअघि स्थानीयले यहाँका दुई मतदान केन्द्रमा सहभागी नहुने निर्णय गरेका थिए। नौगाड गाउँपालिका-१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल-३ को दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान बहिष्कार गर्ने निर्णय गरेका हुन्।
यस्तै, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित सहिद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पनि स्थानीयले मतदान बहिष्कार गरेका छन्। प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीका अनुसार बिहान १० बजेसम्म एक जना पनि मतदाता मतदान गर्न पुगेका छैनन्। उक्त केन्द्रमा ७०१ जना मतदाता रहेका छन्। प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीयले मतदान बहिष्कार गरेका हुन्।
दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदानस्थलमा भने विवादका कारण केही समय मतदान रोकिएको छ। मतदानका क्रममा विवाद भएपछि निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजिएको भन्दै प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको थियो। जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार अहिले सामान्य नाराबाजी भइरहेको छ र स्थिति सामान्य बनाउन सर्वदलीय बैठक बसेर मतदान पुनः सुरु गर्नेबारे छलफल भइरहेको छ।
यसैबीच बाराको सिम्रौनगढ नगरपालिका-३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदान केन्द्रमा खटिएका एक निर्वाचन कर्मचारी बेहोस भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार निर्वाचन कर्मचारी श्यामप्रसाद साह अचानक बेहोस भएपछि उनलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह चढेको हेलिकप्टर पनि खराब मौसमका कारण झापामा अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएको छ। हेली एभरेस्टको हेलिकप्टरमार्फत बिहान ९:१२ बजे काठमाडौँबाट झापातर्फ प्रस्थान गरेको टोली १०:१० बजे पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाइएको छ। शाहले बिहान काठमाडौँमा मतदान गरेर झापातर्फ प्रस्थान गरेका थिए।
यता झापा क्षेत्र नम्बर ५ मा भने प्रतिस्पर्धा निकै रोचक देखिएको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता शाहबीच प्रतिस्पर्धा रहेको यस क्षेत्रमा बिहान साढे १० बजेसम्म करिब २५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्।
देशका अधिकांश मतदान केन्द्रमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।





