काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयमा सुरु भयो नाटक सप्ताह

हिमाल प्रेस १६ चैत २०८२ १६:१८ | Monday, March 30, 2026
18
SHARES
काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयमा सुरु भयो नाटक सप्ताह

काठमाडौँ-  काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयले सन् २०१३ देखि निरन्तर सञ्चालन गर्दै आएको विशेष कार्यक्रम ‘नाटक सप्ताह’ आइतबारदेखि प्रारम्भ भएको छ। पहिलो दिन आइतबार कक्षा ३ का विद्यार्थीहरूले ‘दुःखी राजकुमारी’, ‘सोफिया र काले’ र ‘फूलको भाषा’ शीर्षकका तीनवटा नाटक प्रस्तुत गरे।

बालबालिकाको प्रस्तुति आत्मविश्वासपूर्ण, सिर्जनशील र प्रभावकारी थियो। यो नाटक सप्ताहमा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले जम्मा १७ वटा नाटक प्रस्तुत गर्नेछन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ कलाकार सरोज खनालले ‘सोफिया र काले’ नाटकले आफूलाई अत्यन्तै भावुक बनाएको उल्लेख गरे। उनले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै आफूभित्र पनि फरक रुचि र सपना भए पनि अभिभावकले फरक करियरको अपेक्षा गरेको बताए। बालबालिकालाई आफ्नै सपना पछ्याउन प्रोत्साहन गरिए सफलता निश्चित हुने उनको भनाइ थियो।

त्यसै गरी प्रमुख अतिथि रबी गिरीले विद्यालयले यस्ता अर्थपूर्ण गतिविधि सञ्चालन गरेर सिर्जनशीलता, सहकार्य तथा बालबालिकाको सर्वाङ्गीण विकासलाई प्रवर्द्धन गरिरहेको भन्दै प्रशंसा गरे। उनले यसै विद्यालयमा अध्ययनरत एक विद्यार्थीको हजुरबुबा हुन पाउँदा आफू गर्वित भएको पनि बताए।

उद्घाटन समारोहमा लामो समयदेखि रंगमञ्चसँग आबद्ध दुई जना अभिभावक टंका चौलागाईं र कल्पना थापालाई विद्यालय सञ्चालक समितिको तर्फबाट सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यालय सञ्चालक समितिकी अध्यक्ष सम्झना खरेल, इन्जिनियर्स विदाउट बोर्डर्सका अध्यक्ष कपिलदेव रेग्मी, काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयका बोर्ड सदस्य सपना खरेल तथा कान्जिरोवा नेशनल स्कुलका प्राचार्य रन्जित थापा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रम नेपाल फिल्म क्याम्पसको थिएटर हलमा आयोजना भइरहेको छ। नाटक सप्ताह आगामी २० चैतसम्म सञ्चालन हुनेछ।

यो नाटक सप्ताहले विद्यार्थीहरूलाई सिर्जनात्मकता अभिव्यक्त गर्ने, आत्मविश्वास बढाउने तथा रंगमञ्चीय कलाको अनुभव गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

प्रकाशित: १६ चैत २०८२ १६:१८ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast