काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरू भएको छ।
सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा कार्यसम्पादन समितिको बैठक सुरू भएको हो। प्रतिनिधिसभाको निर्वाचनपछि पहिलोपटक कांग्रेसको बैठक बसिरहेको हो।
दिउँसो १ बजेका लागि डाकिएको बैठक खराब मौसमबीच एक घण्टा ढिला गरी शुरू भएको हो। बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ।
निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ।
कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले बैठकबाट समानुपातिक तर्फका सांसदहरूको नाम टुंगो लगाइने बताए। उनले बैठकमा अन्य विषयमा सामान्य छलफल हुन सक्ने भए पनि मुख्य विषय भने निर्वाचन आयोगलाई सिफारिस गर्ने समानुपातिक सदस्यको नाम टुंगो लगाइने रहेको बताए।
कांग्रेसका सामु अब हुने पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारेमासमेत बैठक गरी टुंगोमा पुग्नुपर्नेछ। प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय समिति बैठकको तयारी भइरहेको भन्दै यो सातासम्म बस्ने जानकारी दिए।





