गोरखा- गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। शव परीक्षण कार्य सकेर आज ती शव दूतावासका प्रतिनिधिलाई बुझाइएको हो।
प्रदेश अस्पताल गोरखामा शव परीक्षण गरेपछि दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। शव बुझेपछि भारतीय दूतावासको टोली काठमाडौँ फर्किएको छ।
भारतको तमिलनाडू राज्यको चेन्नईबाट मनकामना दर्शन गर्न आएका भारतीय दर्शनार्थी शनिबार बेलुका पूजाआजा सकेर फर्कने क्रममा सहिद लखन गाउँपालिका-३, कानटार नजिकै दुर्घटनामा परेका थिए।
बागमती प्रदेश १–००६ ख ८४३० नम्बरको माइक्रो बस भिरबाट खस्दा ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजायल, ५८ वर्षीया मीना र ६० वर्षीया तमिलारशीको घटनास्थलमै मृत्यु भएको थियो।
उक्त दुर्घटनामा ९ भारतीय नागरिक घाइते भएका थिए। घाइतेहरू पुरानो मेडिकल कलेज चितवनमा उपचाररत छन्। पाँच जना गम्भीर घाइते रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
उक्त माइक्रोबसमा ११ महिला र पाँच पुरुष सवार थिए। चालकको अवस्था सामान्य छ भने सहचालक घाइते भएका छन्। चौबीस भारतीय दर्शथार्नी दुई माइक्रोबस चढेर मुक्तिनाथको दर्शन गर्न गएका थिए। उनीहरु मुक्तिनाथ हुँदै मनकामनाको दर्शन गरी फर्किने क्रममा दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





