पोखरा- अनुचित रूपमा ग्यास लुकाउने पोखरा महानगरपालिका-६, जरेवरस्थित भण्डारी ट्रेडर्सलाई ५० हजार जरिबाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्यासको विषयलाई लिएर पोखराका विभिन्न ठाउँमा शनिबार गरेको अनुगमन गरेको थियो।
अनुगमनमा भण्डारी ट्रेडर्सले ४८ थान एलपी ग्यास सिलिन्डर (१४.२ केजीका) अनुचित रूपमा लुकाईछिपाई सञ्चित गरी राखेको र कृत्रिम अभाव खडा गरेको एवं एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्दै गरेको भेटिएको थियो।
प्रशासनले उपभोक्ता संरक्षणविपरीत कार्य गरेको भन्दै भण्डारी ट्रेडर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५० हजार जरिबाना गरेको जनाएको छ।
अनुगमनमा फेला परेका ४८ ग्यास सिलिन्डर पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने, बिनाभेदभाव बिक्रीवितरण गर्ने, कृत्रिम अभाव सिर्जना नगर्ने भनी सचेत गराइएको छ।
पोखरा बजारमा ग्यासको अभाव देखिन थालेपछि यतिखेर उपभोक्ता हैरानीमा छन्। जिल्ला प्रशासन कार्यालयले ग्यास तथा पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सम्बन्धमा समन्वय बैठक गरेको थियो।
नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलले उपभोक्तालाई ग्यास सहज रूपमा उपलब्ध गराउन प्रशासनले बजार अनुगमनमा तीव्रता दिनुपर्ने र पसलमा लुकाएर राखिएका ग्यास नियन्त्रणमा लिनुपर्ने सुझाव दिएका थिए।
नेपाल आयल निगम, गगनगौंडा शाखाका सहायक प्रबन्धक श्रीधर लामिछानेले पेट्रोलियम पदार्थको सहजरूपमा आपूर्ति भइरहेकाले अभाव हुन नदिन कार्यालय सचेत रहेको बताए। दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्यांकर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको उनले बताए।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले घरमा एउटा मात्र सिलिन्डर भएकाले पनि सहजरूपमा ग्यास पाउने अवस्था सिर्जना हुनुपर्ने र एउटै परिवारमा चारपाँच वटा सिलिन्डर भण्डार गर्ने कार्यमा रोक लगाउनुपर्नेमा जोड दिए।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको समन्वय बैठकले ग्यास र पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि विभिन्न १० बुँदे निर्णय गरेको छ। जसअनुसार कास्कीमा एलपी ग्यास र पेट्रोलियम पदार्थको हालको मौज्दातका विषयमा समीक्षा गरी बिक्रीवितरण व्यवस्थित गर्दै सरोकारवाला सबैले उचित रूपमा वितरणको कार्य गर्ने गराउने निर्णय गरिएको छ।





