चुनावपछि चलायमान कलाक्षेत्र

सुस्मिता बजगाईं ३० फागुन २०८२ ६:५६ | Saturday, March 14, 2026
34
SHARES
चुनावपछि चलायमान कलाक्षेत्र

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनले प्रभाव पारेको कलाक्षेत्र लयमा फर्किने क्रममा छ। चुनावको मतपरिणाम गणना सकिएलगत्तै केही कलाकर्मी नियमित कार्यतिर व्यस्त देखिएका छन्।

थिएटर, फिल्म हल, आर्ट काउन्सिल र ग्यालरीहरूमा चहलपहल सुरु भएकाे छ। हलमा फिल्म, थिएटरमा नाटक, चित्रकला प्रदर्शनी लगायत कार्यक्रम चल्न थालेका छन्।

फिल्म निर्माण टिम धमाधम सुटिङ सञ्चालन गरिरहेका छन्। ‘माया भनेको यस्तै होला’, ‘कस्तुरी’, ‘मुक्तिपुर’जस्ता फिल्म केही दिन अघिदेखि छायांकन सुरु गरे। साथै ‘राम नाम सत्य’, ‘लालीबजार’, ‘परालको आगो’लगायत फिल्मका टिमले प्रचार थालेको छ। यसका साथै फिल्मका पोस्टर, गीत, टिजरलगायत सामग्रीहरू सार्वजनिक भइरहेको छ।

मण्डला, शिल्पी, कथा घेरालगायत थिएटरहरूमा पनि नाटक मञ्चन र नयाँ नाटककाे रिहर्सल कार्यहरू हुन थालेका छन्। साथै विभिन्न स्थानमा चित्रकला पनि प्रदर्शनरत छ।

सिद्दार्थ आर्ट ग्यालरी, नेपाल कला परिषद् मा विभिन्न कलाकारकाे कलाकृतिलाई एकल तथा सामूहिक चित्रकला प्रदर्शनीमा राखिएकाे  छ। चुनावकै कारण करिब दुई साता कला क्षेत्रका साहित्यिक कार्यक्रमदेखि फिल्म, नाटक, कला प्रदर्शनीहरू सबै रोकिएका थिए।

यसैबीच हामीले नियमित सार्वजनिक गर्दै आइरहेको साताको शनिबार ‘सहरमा आज’ विशेष उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूलाई समेटेका छाैँ।

आज फागुनको पाँचौं अर्थात् अन्तिम शनिबार। हेरौँ, यो साता कहाँ केके हुँदैछ?

नेपाल कलापरिषद् मा जापानको टोकियो ‘अघि र पछि’ नामक टोकियोको विगत र वर्तमान मार्फत एक फोटोग्राफी यात्राको फोटो प्रदर्शनी चलिरहेको छ। जसलाई ८० तस्बिरमार्फत चित्रण गरिएको छ। प्रदर्शनी जापान फाउन्डेसनले आयोजना गरेको हो। फागुन १५ देखि सुरु भएको प्रदर्शनी आगामी चैत ४ गतेसम्म जारी रहनेछ।

मण्डला थिएटरमा ‘चरणदास चोर’

थापागाउँस्थित मण्डला थिएटरमा फागुन २८ देखि नाटक ‘चरणदास चोर’ मञ्चन भइरहेको छ। मिलन कार्कीको निर्देशनमा बनेको नाटकका लेखक भारतीय नाटककार हबीब तनबीर हुन्। नाटकको नेपाली अनुवाद आशान्त शर्मा र राजन खतिवडाले गरेका हुन्।

सामाजिक व्यंग्यात्मक नाटकमा एक चलाख तर इमान्दार चोरको कथा प्रस्तुत गरिएको छ। चरणदास नामक चोर एक आध्यात्मिक गुरुसँग भेटेपछि सधैँ सत्य बोल्ने प्रतिज्ञा गर्छ र आफ्नो बाँचा पालना गर्ने क्रममा उ विभिन्न नैतिक द्वन्द्वको परिस्थितिमा फस्छ। त्यही परिवन्धमा परेको चरणदासमार्फत नाटकले समाजका मानिसले गर्ने भ्रष्टाचार र शक्तिको दुरुपयोगलाई हास्य र लोकशैलीको संगीतमार्फत मनोरञ्जन तरिकाले प्रस्तुत गरेको छ।

नाटकमा विश्वराज विक, विनय पन्त, विनिता गिरी, रिजन थिङ लामा, अनुष्का कार्की, प्रबल जोशी, जितन राई, मणिराज घले, सक्षम कोइरालालगायत कलाकारले अभिनय गरेका छन्। नाटकका सबै पात्र मण्डला थिएटर ल्याब १८ औं ब्याचका विद्यार्थी हुन्। नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः १५ बजे मञ्चन हुनेछ।

हलमा फिल्म ‘लालिमा’
चुनावपछि हलमा नयाँ नेपाली फिल्म ‘लालिमा’ प्रदर्शनमा आएको छ। फागुन २९ देखि प्रदर्शन भएको फिल्मका निर्देशक रोशन मिराज हुन्।

यौनकर्मीको कथा समेटिएको फिल्ममा उनीहरूको समस्या, पीडा र मानसिक अवस्थालाई देखाइएको छ। साथै फरक क्षमताकी बोल्न नसक्ने आमा एक घटनाले कारागार पुग्छिन् र ती आमालाई छुटाउन छोरी लालिमाले कस्तो संघर्ष गर्छिन् भन्ने कथा फिल्मले प्रस्तुत गर्नेछ।

फिल्ममा कलाकार रोशनी कार्की लालिमाको भूमिकामा छिन्। भने उषा रजक आमाको भूमिकामा देखिएकी छन्। अन्य कलाकारमा शिशिर वाङ्देल, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेललगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मल, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, एनबी सेन्टर र विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा प्रदर्शनरत छ।

यसका साथै हलमा चुनाव अघि प्रदर्शन भएका नेपाली, हिन्दी र अंग्रेजी फिल्महरू चलिरहेको छ। चुनावको दिन हलहरू बन्द गरिएको थियो। अन्य दिनमा भने फिल्मको सो थियो।

आ बाट आमा : फिल्म ‘आ बाट आमा’ माघ १६ देखि हलमा प्रदर्शन भइरहेको छ। आमाको कथामा बनेको फिल्मका निर्देशक चन्द्र पन्त हुन्। फिल्ममा भारतीय कलाकार प्रदीप रावत, अभिनेत्री विपना थापा र पल शाह मुख्य भूमिकामा छन्। फिल्मले अहिलेसम्म १२ करोड ६६ लाख व्यापार गरिसकेको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मलमा फिल्मको १२ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

रमिताको पिरती : फिल्म ‘रमिताको पिरती’ माघ २३ देखि नै हलमा प्रदर्शनरत छ। यो ब्रेकअपको कथामा बनेको फिल्म हो। फिल्मकी निर्देशक सुदिप्ता हुन्। आना शर्मा मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङलगायत कलाकार छन्। फिल्मले अहिलेसम्म ३० लाख कमाइसकेको छ।
आज शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिटी स्क्वायर मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र बिग मुभिजमा फिल्म प्रदर्शनरत छ।

ओ रोमियो : बलिउड फिल्म ‘ओ रोमियो’ फागुन १ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक विशाल भारद्वाज हुन्। शाहिद कपुर मुख्य भूमिकामा रहेको फिल्ममा विक्रान्त मेस्सी, तृप्ति डिमरी, तमन्ना भाटियालगायत कलाकारले अभिनय गरेका छन्। अन्य फिल्मको तुलनामा यो फिल्मले हलमा धेरै सो पाइरहेको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स र सिटी स्क्वायर मलमा फिल्मको १५ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

स्क्रिम ७ : अंग्रेजी फिल्म ‘स्क्रिम ७’ फागुन १५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर जनरामा बनेको फिल्म केभिन विलियमसनले निर्देशन गरेका हुन्। फिल्ममा नेभ क्याम्पबेल, कोर्टनी कोक्स, म्याकेना ग्रेसलगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्समा फिल्मको ६ सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, बिग मुभिज र एफक्युब सिनेमाजमा फिल्म प्रदर्शनरत छ।

वादरिङ हाइट्स : अंग्रेजी फिल्म ‘वादरिङ हाइट्स’ नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र रोमान्स जनरामा बनेको फिल्मका निर्देशक एमेरल्ड फेनेल हुन्। फिल्ममा मार्गोट रोबी, जेकब एलोर्डी, होङ चाय, शाजाद लतिफलगायत कलाकारले अभिनय गरेका छन्। शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर र बिग मुभिजमा फिल्मको सो छ।

प्रकाशित: ३० फागुन २०८२ ६:५६ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast