काठमाडौँ- फागुन २१ को प्रतिनिधिसभा निर्वाचनले पुराना दलहरूको शक्ति कमजोर बनाइदिएको छ। पराजयपछि नेतृत्वबाट देखिएको मौनता र आन्तरिक विवादले उनीहरू अझै आत्मसमीक्षामा तयार नभएको संकेत गरेको छ।
‘सच्चिने कि सक्किने?’ भन्ने बहस चलाइरहेका ती दलहरू अब कसरी उठ्नेहुन्, त्यो आगामी दिनमा देखिनेछ। यसपटक वैकल्पिक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चामत्कारिक मतसहित पहिलो भएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले १८३ सिट पाएको छ। अब कांग्रेस-एमालेको संसद्मा कमजोर उपस्थिति देखिनेछ।
अघिल्लो संसद्मा कांग्रेस ८९ सिटसहित पहिलो र एमाले ७८ सिटसहित दोस्रो थिए। अहिले कांग्रेस र एमाले क्रमशः ३८ र २५ सिटमा सीमित भएका छन्। पार्टीको हारबारे नेताकार्यकर्ताबीच मन्थन सुरु भएको छ। अघिल्ला निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याउँदा मुख्य नेतालाई ‘जस’ लिन अघि सरे पनि अहिलेको हारमा प्रायः मौन छन्। तिनै दलको पार्टी पंक्तिमा पार्टीको हारलाई सामूहिक रूपमा जिम्मा लिनुपर्ने आवाज चर्किँदो छ।
आलटालमै कांग्रेस
चुनावमा सबैभन्दा बढी धक्का खाएको पार्टी हो, कांग्रेस। ०७९ को चुनावमा ८९ सिट (प्रत्यक्ष ५७, समानुपातिक ३२ सिट) जितेको कांग्रेस यसपटक लज्जास्पद मतसहित दोस्रो भएको छ। कांग्रेसले प्रत्यक्षमा (३८ सिट) १८ र समानुपातिकमा २० सिट जितेको छ। २०७९ मा भन्दा कांग्रेसलाई प्रत्यक्षमा ३९ सिट घाटा लागेको छ।
समानुपातिकतर्फ कांग्रेसले २०७९ मा २७ लाख १५ हजार ३२५ मत पाएको थियो। यसपटकको चुनावमा १७ लाख २८ हजार ७४८ मत पाएको छ। कांग्रेस पहिलो बन्ने योजनासहित चुनावमा होमिएको थियो। पार्टीको चुनावी सभामा सभापति गगन थापा आगामी पाँच वर्ष कांग्रेसले सरकार चलाउने बताउँथे। उनी आफूले विगतदेखि नै सञ्चालन गर्दै आएको ‘प्रोजेक्ट गभर्मेन्ट’ अब सरकारमा गएर लागू गर्ने बताउँथे। कांग्रेस उम्मेदवारको भाषणमा ‘भिजन’ सुनिन्थ्यो। तर भोट नपाएपछि त्यो भिजन अब त्यत्तिकै हराएको छ।
जेनजी आन्दोलनपछि कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणको बहस साह्रै सुनियो। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले तत्कालीन सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन गरे।
कांग्रेस माघ पहिलो साता विशेष महाधिवेशनबाट थापालाई नेतृत्व सुम्पिएर चुनावमा गएको थियो। तर भाबी प्रधानमन्त्री भनेर अघि सारिएका सभापति थापाले नै सर्लाही ४ बाट लज्जास्पद मत ल्याएर हारे। सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत पाए।
सभापति थापाले चुनावका बेला भाषण गर्दा नछुटाउने अर्को विषय थियो, पार्टीमा अब कुनै गुट छैन। चुनावी नतिजा त्यस्तो देखिएन। कांग्रेसका उम्मेदवारलाई देउवा कार्यकालका पदाधिकारीहरूले नै असहयोग गरेको विषय बाहिर आएको छ। थापाले नेतृत्व लिएपछि देउवा खेमाका नेताहरू चुनाव लड्न वञ्चित भए। पूर्वसभापति देउवा, नेताहरू शशांक कोइराला, प्रकाशमान सिंहलगायतले चुनाव लड्न पाएनन्। पटकपटक अवसर पाएको भनेर उनीहरूलाई उम्मेदवार नबनाइएको नेताहरूले बताएका थिए। यतिबेला पार्टीभित्र चुनावी नतिजाबारे समीक्षा भइरहेको नेताहरू बताउँछन्।
देउवा निकटस्थ नेताहरू सभापति थापाको राजीनामा माग्न थालेका छन्। पार्टीले हारेपछि पदमा बसिरहनुको औचित्य नभएको उनीहरूको भनाइ छ। सभापति थापाले के गर्लान् भन्ने सर्वत्र चासोको विषय छ। उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामाबारे सोधेको त कहिले अन्य नेतासँग राय लिएको कुरा बाहिर आइरहेका छन्। सभापतिबाट राजीनामा नदिनका लागि नेताहरूबाट आग्रह गरिएका समाचार पनि आएका छन्।
कांग्रेसका देउवा निकट एक नेता थापाले पदमा बसिरहनका लागि अनेक ‘प्रोपोगान्डा’ गरेको बताउँछन्। ‘थापा पदमा बसिरहनका लागि यी सबै गरिरहेका छन्। तर पार्टीलाई अघि बढाउन राजीनामा दिएर महाधिवेशनमा जानु उचित हुन्छ’, ती नेता भन्छन्। ती नेताका अनुसार थापा १५ औँ महाधिवेशन पनि धकेलेर आफ्नै नेतृत्वमा पार्टी चलाउन चाहन्छन्। विशेष महाधिवेशनलगत्तै सभापति थापाले २०८३ वैशाखमा नियमित महाधिवेशन गरिने बताएका थिए। अहिले नियमित महाधिवेशनको चर्चा पनि हुन छाडेको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसे पार्टी बैठकमा चुनावी समीक्षा र पार्टीको १५ औँ महाधिवेशनबारे छलफल हुने बताउँछन्। उनी भन्छन्, ‘छलफलबाटै कांग्रेसको भावी रणनीति तय हुन्छ। कहाँ के समस्याले चुनाव हारियो गहिरो समीक्षा हुन्छ।’ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।
मौनताबाटै आलोचना हटाउने ओली रणनीति
२०७९ को चुनावमा समानुपातिकमा लोकप्रिय मत ल्याएको एमालेले यसपटक जनताबाट गतिलो ‘झापड’ पाएको छ। २०७९ मा एमालेले ७८ सिट (प्रत्यक्षमा ४४, समानुपातिकमा ३४ सिट) ल्याएर दोस्रो बनेको थियो। त्यसबेला एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएको थियो। अहिले एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट जितेको छ। यसपटक प्रत्यक्षमा एमालेलाई ३५ सिट र समानुपातिकमा १८ सिट घटेको छ। एमालेको समानुपातिकतर्फ तीन वर्षमा १४ लाख १० हजार ८३२ मत घटेको छ।
पार्टी पराजयको विषयलाई लिएर एमालेमा विवाद सुरु हुन थालेको छ। नेताहरू सामाजिक सञ्जालमा पनि आरोपप्रत्यारोपमा उत्रिएका छन्। अघिल्ला चुनावमा धेरै मतान्तरले निर्वाचित हुँदै आएका अध्यक्ष केपी शर्मा ओलीले पनि यसपटक हारेका छन्। झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले ६८ हजार ३८४ मत ल्याएर विजयी हुँदा ओलीले १८ हजार ७३४ मत मात्र पाए।
चुनावी परिणामका विषयमा ओलीले कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। इतरपक्षका नेताहरू ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। एमाले नेतृ उषाकिरण तिम्सेना ओलीको राजीनामापछि मात्र पार्टी बन्ने बताउँछिन्।
एमाले नेता गोकुल बास्कोटा र शेरबहादुर तामाङबीच सामाजिक सञ्जालमा आरोपप्रत्यारोप सुरु भएको छ। चुनावी नतिजालाई लिए नेतृत्वमाथि कडा कटाक्ष गरेका बास्कोटालाई तामाङले नेतृत्व मात्र नभई अन्य नेताले पनि जस लिनुपर्ने बताएका थिए। बास्कोटाले आफूले तामाङले जस्तो आफू र श्रीमतीका लागि गुटको राजनीति नगरेको भन्दै गाली बर्साएका छन्।
उपमहासचिव योगेश भट्टराई र महासचिव शंकर पोखरेलबीच पनि भनाभन चलिरहेकै छ। चुनावमा टिकट नपाएका भट्टराईले चुनावी अभियानमा पनि चाहेजस्तो जिम्मेवारी नपाएको गुनासो गरेका छन्। उनी निकट नेताहरूका अनुसार महासचिव पोखरेलले भट्टराईलाई भूमिकाविहीन बनाएका थिए। पोखरेलले भने आफूहरूले भट्टराईलाई वक्ताको जिम्मेवारी दिएको जबाफ फर्काएका छन्। भट्टराईले पनि ओलीको राजीनामा मागेका छन्।
नेकपा : न प्रश्न, न नैतिकता
चुनावअघि हतारहतार एकता भए पनि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले अपेक्षाकृत मत ल्याएन। माओवादी, एकीकृत समाजवादीसहितका विभिन्न २२ दल मिलेर नेकपा बनेको थियो। यो शक्तिभित्र घुसेका दलहरूको २०७९ को मत हेर्दा अहिलेको मत एकदमै कम देखिन्छ।
२०७९ को चुनावमा नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा १८, समानुपातिकमा ११ लाख ७५ हजार ६८४ मत (१४ सिट), एकीकृत समाजवादीले प्रत्यक्षमा १०, समानुपातिकमा दुई लाख ९८ हजार ३९१ मत (थ्रेस होल्ड नपुगेको) र रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रत्यक्षमा तीन र समानुपातिकमा दुई लाख ७१ हजार ७२२ मत ल्याएको थियो।
यसपटक नेकपाले पुरानो माओवादीकै जति मत ल्याएन। २०७९ को माओवादीको भन्दा अहिलेको नेकपाको तीन लाख कम मत आएको छ। प्रत्यक्षमा त पहिलेको एकीकृत समाजवादी (१० सिट) को भन्दा कम सिट (नौ सिट) ल्याएको छ।
नेकपाको मत घटेको विषयमा पार्टीभित्र समीक्षा भएको छैन। अर्को कुरा, न कसैले नेतृत्वको राजीनामा माग्ने तागत राखेको छ, न त उल्लेखनीय मत आयो भन्न सकेको छ। नेताहरू पार्टी बन्दैनबनी चुनावमा होमिँदा कमजोर मत आएको बताउँछन्। ‘हामीले पार्टीलाई व्यवस्थित बनाउन सकेनौँ। जसकारण हार भयो’, नेकपा प्रवक्ता अग्नि सापकोटा भन्छन्, ‘अब समीक्षा गरेर अघि बढ्नेछौँ।’
राप्रपा : जितेको लडाइँ लिङ्देनको, हारेको अरूको
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा चुनावी परिणामका विषयमा विवाद बढेको छ। चुनावलगत्तै अध्यक्ष राजेन्द्र लिङ्देनले दुई नेता (उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेन्द्र आचार्य) लाई कारबाही गरे। उनीहरूलाई निर्वाचनमा सहयोग नगरेको भन्दै कारबाही गरिए पनि आसयपत्रमा त्यो विषय नखुलाइएको नेताहरू बताउँछन्।
अघिल्लो चुनावमा १४ सिट जितेको राप्रपा यसपटक चार सिटमा सीमित छ। अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले चुनाव हारे पनि अरूमाथि डन्डा बर्साउन सक्रिय देखिएका छन्।
‘हाम्रो पार्टीमा अनौठा गतिविधि भइरहेका छन्। २०७९ मा १४ सिट ल्याउँदा अध्यक्षले ताली खाए। अहिले चार सिट ल्याउँदा कार्यकर्ताले गाली खाँदै छन्,’ राप्रपाका एक नेता भन्छन्, ‘पार्टीमा समीक्षा गर्ने कुरा त परको कुरा कार्यकर्तामाथि नै डन्डा लगाइँदै छ।’ २०७९ मा प्रत्यक्षमा साता सिट जितेको राप्रपा अहिले एक सिटमा सीमित छ भने त्यसबेला पाँच लाख ८८ हजारभन्दा बढी मत ल्याएको पार्टीले अहिले तीन लाख २७ हजार ३४७ पाएको छ।
राप्रपाका नेताहरूले चुनावमा पराजयको जिम्मेवारी लिएर अध्यक्ष लिङ्देनले पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन्। नेतृ चम्पा अधिकारीले अध्यक्ष लिङ्देनले निःसर्त राजीनामा दिनुपर्ने बताइन्।
लिङ्देन निकट नेताहरूले अधिकारीलाई पार्टी छाड्न चेतावनी दिएका छन्। ‘अध्यक्षज्यूले राजीनामा दिनुहुन्न। राप्रपामा बस्न नचाहे अधिकारीले पार्टी छाड्न सक्नुहुन्छ’, राप्रपाका एक नेताले भनेका छन्।
जनमतले पुराना दलहरूलाई गम्भीर सन्देश दिएको छ। त्यो सन्देशलाई उनीहरूले कसरी ग्रहण गर्छन् भन्ने कुराले नै आगामी नेपाली राजनीतिको दिशा तय गर्नेछ।






