किन बढ्यो पाक-अफगान तनाव? सीमामा हिंसा

हिमाल प्रेस ११ फागुन २०८२ १४:०६ | Monday, February 23, 2026
8
SHARES
किन बढ्यो पाक-अफगान तनाव? सीमामा हिंसा अफगानिस्तानको नान्गाहार प्रान्तस्थित बेहसुद जिल्लामा आइतबार पाकिस्तानी सेनाको आक्रमणमा ध्वस्त भएको घरको भग्नावशेष हटाइँदै। तस्बिर: एएफपी/रासस

काठमाडौँ- अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा पाकिस्तानको हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु भएको छ। अफगान सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा अन्य ६ जना घाइते भएका छन्।

अफगान अधिकारीहरूका अनुसार यी आक्रमण रातिको समयमा नान्गाहार र पक्तिका प्रान्तका आवासीय क्षेत्रहरूलाई लक्षित गरी गरिएको थियो। पक्तिकामा भने मानवीय क्षतिको कुनै जानकारी आएको छैन। अफगानिस्तानको तालिबान सरकारको रक्षा मन्त्रालयले आक्रमणको निन्दा गर्दै उचित र सन्तुलित जवाफ दिने चेतावनी दिएको छ।

अर्कोतर्फ पाकिस्तानले अफगानिस्तानका सातवटा चरमपन्थी ठेगानाहरूमा आक्रमण गरेको बताएको छ। यस कारबाहीलाई पाकिस्तानभित्र हालैका दिनमा भएका आत्मघाती बम विस्फोटको जवाफ भनिएको छ। ‘एक्स (ट्विटर) मा जारी एक सन्देशमा पाकिस्तानको सूचना मन्त्रालयले सीमावर्ती क्षेत्रमा आतंकवादी शिविर र ठेगानाहरूविरुद्ध गुप्तचरी जानकारीका आधारमा अभियान चलाइएको दाबी गरेको छ।

काबुलस्थित परराष्ट्र मन्त्रालयले हवाई आक्रमणको विरोधमा पाकिस्तानी राजदूतलाई बोलाएको छ। मन्त्रालयले आक्रमणलाई अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन भनेको छ र यसको कुनै पनि परिणामको जिम्मेवारी पाकिस्तानकै हुने चेतावनी दिएको छ।

पछिल्ला दिनहरूमा पाकिस्तानमा कम्तीमा चारवटा आत्मघाती आक्रमण भएका छन्, जसमा दर्जनौँ सर्वसाधारण र सुरक्षाकर्मी मारिएका छन्। पाकिस्तान सरकारले यी घटनामा आक्रमणहरू अफगानिस्तानबाट आएका ठोस प्रमाण रहेको दाबी गरेको छ। पाकिस्तानले यी आक्रमणका लागि तहरिक-ए-तालिबान पाकिस्तानलाई जिम्मेवार ठहर्‍याएको छ, जसलाई उसले फितना-अल-ख्वारिज भन्दै आएको छ।

अफगानिस्तानले पाकिस्तानी तालिबानलाई शरण दिएको आरोप अस्वीकार गर्दै आएको छ। आइतबारको आक्रमणपछि अफगान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले पाकिस्तानका जर्नेलहरूले आफ्नो देशको सुरक्षा कमजोरी लुकाउन यस्ता अपराधहरू गरिरहेको आरोप लगाएका छन्।

पाकिस्तान र अफगानिस्तान दुवैले एकअर्कामाथि चरमपन्थी समूहहरूलाई सहयोग गरेको आरोप लगाउँदै आएका छन्। गत वर्ष अक्टोबरमा काबुलमा भएको पाकिस्तानी आक्रमण र त्यसपछि अफगान भूमिमा भएका आक्रमणका कारण दुई देशबीचको सम्बन्ध बिग्रिएको छ।

संघर्षका क्रममा दुवै पक्षका सेनाले तोप र भारी गोलाबारी प्रयोग गरे, जसमा दुवैतर्फका दर्जनौँ सैनिक र नागरिकले ज्यान गुमाए। पछि कतारको मध्यस्थतामा युद्धविरामको सहमति भएको थियो। कतार र टर्कीको मध्यस्थतामा सीमा तनाव कम गर्न धेरै चरणका वार्ता भए पनि कुनै ठोस परिणाम निस्कन सकेन।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार सन् २०२५ को अन्तिम तीन महिनामा पाकिस्तानी सुरक्षा बलको आक्रमणमा कम्तीमा ७० अफगान नागरिक मारिएका छन् भने चार सय ७८ जना घाइते भएका छन्। हाल दुई देशबीचको व्यापार ठप्प छ र पाकिस्तानले ठूलो संख्यामा अफगान शरणार्थीहरूलाई देशनिकाला गरेको छ, जसले तनाव थप चर्काएको छ।

प्रकाशित: ११ फागुन २०८२ १४:०६ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast