पेरिसडाँडामा मंगलबार आगामी निर्वाचनका लागि पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’।
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै संघीयताको मर्मअनुरूप सघीय शिक्षा ऐन जारी गर्ने घोषणा गरेको छ। मंगलबार अपराह्न काठमाडौँस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
पार्टीले संसद्को पहिलो बैठकमै शिक्षा ऐन जारी गर्न संकल्प प्रस्ताव पेस गरी पारित गरिने प्रतिबद्धता जनाएको छ। वर्षौँदेखि बहसमा रहेको विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा पुगेर अघि बढ्न नसकेको सन्दर्भमा नेकपाको यो घोषणा महत्वपूर्ण मानिएको छ।
प्रतिबद्धतापत्रमा शिक्षा प्रणालीमा आमूल सुधार गर्ने उल्लेख गर्दै संरचनात्मक तथा नीतिगत सुधार, सामुदायिक विद्यालय सुदृढीकरण, शिक्षक व्यवस्थापन, सीप विकास तथा डिजिटल शिक्षामा विशेष जोड दिइएको छ। ‘एक पालिका एक स्मार्ट विद्यालय’ कार्यक्रम कार्यान्वयन गर्ने, विपन्न, दलित, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने योजना पनि अघि सारिएको छ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, शिक्षक तालिमको गुणस्तर वृद्धि, निजी विद्यालयको शुल्कमा सीमा निर्धारण तथा प्रत्येक पालिकामा कम्तीमा एक नमुना आवासीय विद्यालय स्थापना गर्ने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ।
उच्च तथा प्राविधिक शिक्षातर्फ सबै प्रदेशमा इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गर्ने, सीटीईभीटीलाई राष्ट्रिय प्राविधिक निकायका रूपमा विकास गर्ने तथा स्वास्थ्य विज्ञान शिक्षाको विस्तार गर्ने योजना रहेको उल्लेख छ। कैलालीको गेटामा स्थापित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप सुदृढ गर्दै स्वास्थ्य जनशक्ति उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गरिने जनाइएको छ।
यसअघि प्रकाशित भएको समाचार सच्याइएको छ।
नेकपाको चुनावी घोषणापत्र : आयातमुखी अर्थतन्त्रको अन्त्य र समाजवादको नयाँ मार्गचित्र




