स्थलगत

महेन्द्रलाई छैन अन्तर्घातको डर, ह्याट्रिक बनाउन रघुवीरलाई सकस

धैर्यकान्त दत्त ९ फागुन २०८२ २१:२७ | Saturday, February 21, 2026
14
SHARES
महेन्द्रलाई छैन अन्तर्घातको डर, ह्याट्रिक बनाउन रघुवीरलाई सकस

जनकपुरधाम- फागुन २१ नजिकिँदै जाँदा मधेश प्रदेशमा चुनावी सरगर्मी बढ्दै गएको छ। चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरू जोडघटाउमा जुटेका छन् भने तिनका समर्थक र शुभेच्छुकहरू रणनीति बुन्न व्यस्त देखिन्छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको मधेश प्रदेशको धनुषा जिल्लाका चारवटै क्षेत्रमा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। अन्य चुनावजस्तै यसपालि पनि धनुषा-४ मा हुने चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।

यस क्षेत्रमा राष्ट्रिय राजनीतिमा पकड जमाएका दुई ‘हेभिवेट’ का साथै नयाँ तथा पुराना दलका नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। धनुषा-४ मा एक दर्जनभन्दा बढी उम्मेदवार रहे पनि विगतका चुनावहरू जस्तै यसपालि पनि मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने देखिएको छ।

यस क्षेत्रमा पुरानै प्रतिद्वन्द्वीहरू कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र एमाले सचिव रघुवीर महासेठ फेरि मैदानमा छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सञ्जयकुमार महतो, जसपा नेपालका कृष्णचन्द्रप्रसाद साहलगायतका उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन्।

धनुषा-४ बाट लगातार दुईपटक चुनाव जितेका एमाले सचिव महासेठ यसपालि ‘ह्याट्रिक’ गर्ने प्रयासमा छन् भने कांग्रेसका निवर्तमान सहमहामन्त्री यादव भने पहिलो जित निकाल्ने दाउमा होमिएका छन्। संघीयता कार्यान्वयनमा आएयता भएका दुवै चुनावमा यस क्षेत्रबाट महासेठले बाजी मार्दै आएकमा छन्। उनले दुवैपटक कांग्रेसका यादवलाई पराजित गरेका थिए।

२०७४ सालको निर्वाचनमा महासेठले २२ हजार पाँच सय ३२ मत ल्याउँदा यादवले १९ हजार नौ सय ९१ मत प्राप्त गरेका थिए। मतान्तर दुई हजार पाँच सय ४१ मतको थियो। त्यस्तै २०७९ सालको निर्वाचनमा महासेठले नै बाजी मारे। यद्यपि त्यो निर्वाचनमा भने दुवै उम्मेदवारबीचको मतान्तर झिनो थियो।

चुनावी अभियानका क्रममा दुवै नेताले आआफ्नो जित सुनिश्चित रहेको दाबी गर्ने गर्दै आएका छन्। मतदाताहरू भने महासेठलाई अघिल्लो चुनावहरू जस्तो यसपालि सहज नरहेको बताउँछन्।
सचिव महासेठलाई जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको ‘दमन’ का साथै एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतले केहीअघि मधेशबारे गरेका टिप्पणीहरूले असहज बनाइरहेको मतदाताहरूको भनाइ छ।

अध्यक्ष ओलीले केही समयअघि एउटा अन्तरवार्तामा धनुषा र महोत्तरीलाई गुइँठा बाल्ने फोहरी स्थान रहेको भनेर टिप्पणी गरेका थिए। त्यस्तै बस्नेतले ‘छौरा’ शब्दलाई छाउरा भनेर व्याख्या गरेपछि उनको पनि आलोचना भएको थियो। यसका साथै जेनजी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा सरकारको नेतृत्व ओलीले सम्हालेका थिए। प्रतिपक्षी उम्मेदवारहरूलाई यी विषयहरूलाई चुनावी मुद्दा बनाइदिएपछि महासेठलाई तेस्रोपटक जित निकाल्न सकस परेको छ।

महासेठको प्रचारप्रसारमा जुटेका एमालेका कार्यकर्ताहरू पनि अन्य आरोपहरूको खण्डन गर्न सकिए पनि अध्यक्ष ओलीले धनुषा र महोत्तरीबारे गरेको टिप्पणीले सकस बनाएको बताउँछन्।

‘हामी आफ्नो अभियानमा जुटेका छौँ। प्रचारप्रसारका साथै घरदैलो पनि भइरहेको छ,’ महासेठको प्रचारप्रसारमा खटिएका एकजना एमाले कार्यकर्ता भन्छन्, ‘मतदाताहरूलाई अरू सबै थोकको जवाफ दिइरहे पनि त्यो अन्तरवार्तालाई बचाउ गर्न सकिरहेका छैनौँ।’

अघिल्ला चुनावहरू जस्तो यसपालि अहिलेसम्म एमालेको माहोल बन्न नसकेको उनको भनाइ छ। यद्यपि एमालेको एजेन्डाबारे मतदाताहरूमाझ प्रस्ट पारिरहेको ती कार्यकर्ताले बताए।

अघिल्लो साता घरदैलो गर्ने क्रममा मतदाताहरूले एमाले सचिव महासेठको चर्को विरोध गरेका थिए। निकालगाउँमा घरदैलोका लागि पुगेका बेला युवाहरूले ‘किन मत दिने’ भन्दै विरोध गरेपछि महासेठ फर्किनुपरेको थियो।

कांग्रेसका नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन्। विशेष महाधिवेशनपछि पार्टी नेतृत्व फेरिएर चुनावमा आउँदा सहज भएको उनीहरूको भनाइ छ। अघिल्ला चुनावहरूको तुलनामा योपािल सहज देखिएको कांग्रेस नेता तथा कार्यकर्ताहरू बताउँछन्।

प्रदेशसभा सदस्यसमेत रहेका धनुषा-४ का नेता शेषनारायण यादवले अघिल्ला चुनावहरूको तुलनामा अहिले स्थिति अनुकूल देखिएको बताए। उनी भन्छन्, ‘अघिल्लो पटकभन्दा योपालि धेरै राम्रो छ, हामी जित निकाल्छौँ।’

अघिल्लो चुनावमा कांग्रेसका नेता यादव एमालेका महासेठसँग जम्मा एक सय २४ मतको अन्तरले पराजित भएका थिए। महासेठले ३२ हजार दुई सय ३६ मत ल्याउँदा यादवको ३२ हजार एक सय १२ मत थियो।
प्रथम राष्ट्रपति डा.रामवरण यादवको गाउँबाट अपेक्षा गरेअनुसार मत नआउँदा हार बेहोर्नुपरेको आरोप त्योबेला कांग्रेस नेताहरूले लगाएका थिए। प्रथम राष्ट्रपतिका छोरा डा. चन्द्रमोहन यादवले ‘अन्तर्घात’ गरेको आरोप कांग्रेस कार्यकर्ताहरूको थियो। यसपालि कांग्रेस एकढिक्का रहेको दाबी उनीहरूको छ।

‘यसअघि के भयो भएन त्यो कुरा बिर्सिइसकेका छौँ, कांग्रेस एक ढिक्का छ,’ प्रदेश सांसद शेषनारायण भन्छन्, ‘यसपालि कहीँकतैबाट अन्तर्घात हुँदैन, सबैजना एकजुट भएर अभियानमा जुटेका छौँ।’
कांग्रेसले चन्द्रमोहनलाई समानुपातिकतर्फ सिफारिस गरेको छ। मधेशी कलस्टरबाट पहिलो नम्बरमा उनी समानुपातिकतर्फ सिफारिस भएका हुन्।

बीपी राजमार्गको तुलसीसम्म सिमाना रहेको यस निर्वाचन क्षेत्रले पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने लालगढ, ढल्केबरलगायतलाई समेटेको छ।

पहाडी समुदायको बाहुल्य रहेका यी क्षेत्रा एमालेको बढी प्रभाव रहेको बताइन्छ। अघिल्ला चुनावमा पनि यी क्षेत्रबाट बढी मत एमालेकै हिस्सामा गएको थियो। ढल्केबरभन्दा दक्षिणतर्फ कांग्रेसको बाहुल्य रहेको बताइन्छ। कतिपय पालिकामा दुवै दलको मिश्रित मत रहेको स्थानीयहरू बताउँछन्।

कांग्रेस र एमालेका कार्यकर्ताहरूले एकअर्कासँग प्रतिस्पर्धा हुने दाबी गरिरहेको बेला पछिल्लो समय चलेको ‘बालेन-प्रभाव’ का कारण रास्वपाको पक्षमा पनि मतदाताहरू देखिएका छन्।

अघिल्लोपटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका राजकिशोर यसपालि रास्वपाको टिकट लिएर मैदानमा उत्रिएका छन्। पछिल्लो समय चलेको ‘घन्टी-लहर’ का कारण उनले पनि चुनौती दिन सक्ने स्थानीय बताउँछन्। कतिपय स्थानीय मतदाताहरूले कांग्रेस र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना रहेको बताए।

एमाले आलोचित भइरहेको धनुषा-३ मा कसले मार्ला बाजी?

प्रकाशित: ९ फागुन २०८२ २१:२७ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast