काठमाडौँ- पूर्वमाओवादी नेता डा.बाबुराम भट्टराई र जनार्दन शर्माले जनयुद्ध सम्झँदै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आज ३०औँ जनयुद्ध दिवस हो।
‘जनयुद्ध दिवसका अवसरमा सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु, सम्पूर्ण बेपत्ता, घाइते योद्धाहरू तथा परिवर्तनका लागि संघर्ष गर्ने सबैमा हार्दिक सम्मान व्यक्त गर्दछु,’ डा.भट्टराईले फेसबुकमा लेखेका छन्,‘यो दिन अन्याय र असमानताविरुद्ध उठेको चेतनाको स्मरण हो,जसले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ डोहोर्यायो। परिवर्तन र समृद्ध नेपाल निर्माणको यात्रा अझै जारी छ। जनयुद्ध दिवसको हार्दिक शुभकामना।’
त्यसैगरी पूर्वमाओवादी नेता जनार्दन शर्माले पनि सामाजिक सञ्जालमार्फत जनयुद्ध सम्झिँदै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। शर्मा लेख्छन्,‘नेपाली समाजको युगान्तकारी विद्रोह, महान् जनयुद्ध, सामन्तवादको अन्त्य, समावेशी संघीय गणतन्त्रको स्थापना, सात राजनीतिक दलको सहभागितामा दोस्रो जनआन्दोलन, संविधानसभा र नयाँ संविधानमार्फत प्राप्त उपलब्धि सहित आज महान जनयुद्धको ३१औँ वर्षगाठ मनाइँदैछ। बलिदान दिने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, बेपत्ता तथा घाइते योद्धाहरूमा उच्च सम्मान व्यक्त गर्दछु। २१औँ शताब्दीको उथलपुथलकारी आन्दोलनको उद्देश्य सुशासन, समृद्धि र समानता थियो। तर त्यसप्रति पार्टी र नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश आज संकटको भूमरीमा छ। संविधान र राष्ट्रको रक्षा गर्दै नवयुवाको अपेक्षा पूरा गर्ने चुनौती एकसाथ देखिएको छ। आगामी २१ फागुनको निर्वाचन सफलतापूर्वक सम्पन्न गरी नेपाली राजनीतिलाई जन अपेक्षा अनुसार अगाडि बढाउन जनताको हातमा छ।’
तत्कालीन नेकपा माओवादीको नेतृत्वमा १० वर्षसम्म नेपालमा जनयुद्ध भएको थियो। डा.भट्टराई, शर्मा, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले माओवाद भने छाडिसकेका छन्।



