एआईको सहायतामा बनाइएको तस्बिर।
काठमाडौँ– अमेरिका भ्रमण गर्ने नेपाली नागरिकहरूका लागि भिसा प्रक्रिया थप कडा बन्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार आगामी जनवरी २१ देखि नेपालसहित केही मुलुकका नागरिकले अमेरिका भ्रमणका लागि बी-१ (व्यावसायिक) र बी-२ (पर्यटन) भिसा लिँदा ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने व्यवस्था लागू हुँदैछ।
यो नियम नेपालसँगै बंगलादेश र भुटानका नागरिकहरूका लागि पनि लागू हुनेछ। यसअघि अमेरिकाले ३५ मुलुकलाई यो प्रकारको धरौटी लिने गरेको थियो। अहिले नेपाल सहित तीन मुलुक थपेर सूचीमा ३८ पुर्याएको हो।
किन ल्याइयो धरौटी व्यवस्था?
अमेरिकी प्रशासनका अनुसार यो व्यवस्था मुख्यतः भिसा अवधि नाघेर अमेरिका बस्ने (ओभरस्टे) समस्या नियन्त्रण गर्न लक्षित छ। पछिल्ला वर्षहरूमा दक्षिण एशियाली मुलुकहरूबाट अमेरिका जाने बी–१ र बी–२ भिसावाहकहरूमध्ये उल्लेख्य संख्याले तोकिएको समयभित्र अमेरिका नछाडेको तथ्यांक देखिएपछि यस्तो निर्णयमा अमेरिकी प्रशासन पुगेको हो।
अमेरिकी गृह सुरक्षा विभागका पुराना तथ्यांकअनुसार नेपाल, बंगलादेश र भुटान जस्ता मुलुकहरू उच्च ओभरस्टे दर भएका देशहरूको सूचीमा पर्दै आएका छन्। यही कारण अमेरिकाले यी मुलुकलाई ‘जोखिम समूह’मा राख्दै धरौटी प्रणालीमार्फत यात्रुहरूको जिम्मेवारी सुनिश्चित गर्न खोजेको हो।
अमेरिकी विदेश मन्त्रालयले धरौटी रकम भिसा अन्तर्वार्ताकै क्रममा निर्धारण हुने स्पष्ट पारेको छ। तर धरौटी राख्दैमा भिसा जारी हुने भन्ने कुनै सुनिश्चितता भने हुँदैन। भिसा स्वीकृति अन्तर्वार्ता, कागजात र यात्राको उद्देश्यका आधारमै हुने अमेरिकी गृह प्रशासनले स्पष्ट पारेको छ।
धरौटी कहिले फिर्ता हुन्छ?
भिसावाहकले अमेरिका यात्रा गरेर तोकेको अवधिभित्र देश छाडेमा वा भिसा अवधि रहँदा अमेरिका यात्रा नगरेमा, धरौटी रकम फिर्ता हुनेछ। साथै भिसा प्राप्त भए पनि अमेरिकामा प्रवेश अनुमति नपाएको अवस्थामा समेत धरौटी फिर्ता हुने व्यवस्था गरिएको छ।
धरौटी प्रणालीसँगै अमेरिकी सरकारले बी-१ र बी-२ भिसावाहकहरूका लागि प्रवेश गर्न र बाहिरनका लागि तीनवटा विमानस्थल मात्र तोकेको छ। बोस्टन लोगन (बीओएस), न्युयोर्कको जोन एफ केनेडी (जेएफके) र वाशिङ्टनको डलस (आईएडी)। यी बाहेक अन्य विमानस्थल प्रयोग गरेर अमेरिका प्रवेश वा बाहिरिन अनुमति नदिने पनि स्पष्ट गरिएको छ।
अमेरिकाले यसअघि अफ्रिका, मध्यपूर्व र केही एसियाली देशहरूका नागरिकका लागि यस्तै धरौटी वा कडाइयुक्त भिसा व्यवस्था लागू गर्दै आएको छ। नेपालका हकमा भने अहिलेसम्म यस्तो आर्थिक धरौटी अनिवार्य गरिएको थिएन। नयाँ निर्णयसँगै नेपाली यात्रुहरूका लागि अमेरिका भ्रमण अझ खर्चिलो र कडाइयुक्त बन्ने देखिएको छ।



