काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिकको बन्दसूचीबारे विवाद उत्पन्न भएको छ । शुक्रबार दिउँसो महिलाहरूको एक समूहले पार्टी कार्यालयमा आफूहरूको माग समेटिएको ज्ञापनपत्र बुझाएकोमा त्यसपछि पुनः अनसन थालेका छन्।
पार्टीको महिला सङ्गठनकी सचिव चम्पा अधिकारी रिले अनसन र केन्द्रीय सदस्य नानीमैया आचार्यले आमरण अनसन थालेका हुन् । उनीहरूले समानुपातिक सूचीमा परिवारवाद र नातावाद हाबी भएको आरोप लगाउँदै अनसन बसेका हुन्। शुक्रबार उनीहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि ध्यानाकर्षण गराएका थिए। तर लिङ्देनले चासो नदिएपछि उनीहरूले अनसन थालेका हुन्।
पार्टी कार्यालयमै अनसन सुरु भएपछि चुनावको मुखमा राप्रपामा हंगामा भएको छ। पार्टी कार्यलयमै अनसन सुरु भएसँगै राप्रपाको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । बैठकले संस्थागत र सर्वसम्मत निर्णय गरेको विषयमा गलत प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको, देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको, सम्पूर्ण राष्ट्रवादी शक्ति एकीकृत बन्दै गएको र निर्वाचन नजिकिँदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टिकाटिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउने कार्यहरू पार्टीको बृहत्तर हित विपरीत र अवाञ्छित हुने हुँदा यस्ता कार्यमा संलग्न नहुन राप्रपा समग्र पार्टी पङ्क्तिलाई हार्दिक आग्रह गर्दछ’, प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले संस्थागत रूपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनु पार्टी सदस्यको कर्तव्य, धर्म र जिम्मेवारी रहेको सबैमा स्मरण गराउँदछ ।’



