आयोगले सुरु गर्‍यो संयुक्त निर्वाचन सञ्चालन केन्द्र

हिमाल प्रेस ११ माघ २०८२ १६:४६ | Sunday, January 25, 2026
12
SHARES
आयोगले सुरु गर्‍यो संयुक्त निर्वाचन सञ्चालन केन्द्र

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ।

आइतबार काठमाडौँको कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना गरिएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरे।

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने केन्द्रमा गृह मन्त्रालय, सेना, प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको आयोगले जनाएको छ।

देशभर स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणका आधारमा सुरक्षा निकायसँग समेत समन्वय गरी निर्वाचनसम्बन्धी वस्तुस्थितिको जानकारी गराउने काम केन्द्रले गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए।

उनले निर्वाचन क्षेत्रमा देखा पर्ने समस्यालाई समाधान गर्ने काम समेत केन्द्रको समन्वयबाट हुने बताए।

भण्डारीले संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा अनुभवी व्यक्तिहरूलाई समावेश गरेकाले प्रभावकारीरूपमा समस्या समाधान हुने विश्वास व्यक्त गरे। त्यस्तै उनले निर्वाचनका सन्दर्भमा आयोगमा धेरै उजुरीहरु आएको भन्दै त्यसमाथि सूक्ष्म ढंगले अध्ययन भइरहेको जानकारी दिए।

प्रकाशित: ११ माघ २०८२ १६:४६ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast